Ad Image

किताबखानाका शाखा अधिकृत प्रसाईं घुस मुद्दामा दोषी ठहर

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bisesh-adalat_Ba7aRFA3Ws.jpeg

काठमाडौं । विशेष अदालतले शिक्षक किताबखानाका शाखा अधिकृत धनेश्वर प्रसाईंलाई ३ लाख रुपैयाँ घुस लिएको भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ६ महिना कैद सजाय सुनाएको छ ।

घुस उठाउन सहयोगी भूमिका खेलेका क्यान्टिन सञ्चालक सुदर्शन न्यौपाने पनि दोषी ठहर भएका छन् र उनलाई पनि सोही कैद सजाय तोकिएको छ ।

विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले गरेको फैसला अनुसार, दुवैजनाले डेढ\डेढ लाख रुपैयाँ जरिवाना तिर्नुपर्नेछ । उनीहरूले घुस लिएको रकमसमेत जफत हुने विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।

यसका अतिरिक्त, दुवैजनाबाट ६\६ हजार रुपैयाँका दरले अपराध पीडित संरक्षण कोषमा क्षतिपूर्ति भराउनुपर्ने आदेश पनि भएको छ । एक शिक्षकको पेन्सनपट्टा बनाउने क्रममा शाखा अधिकृत प्रसाईंले क्यान्टिन सञ्चालक न्यौपानेलाई प्रयोग गरेर घुस लिएको अदालतको निष्कर्ष छ ।

सोही घटनामा घुस माग्न सहजीकरण गरेको आरोप लागेकी कार्यालय सहयोगी भवानी अधिकारीलाई भने विशेष अदालतले सफाई दिएको छ । उनको ओहोदासँग सम्बन्धित काम नभएको भन्दै अदालतले उनलाई सफाइ दिएको हो ।

घुस दिएको आरोपमा भ्रष्टाचार मुद्दा खेपेका शिक्षक भोजराज भट्टराईले पनि सफाई पाएका छन् । उनले अख्तियारमा उजुरी दिए पनि अदालतमा बकपत्र गर्दा शाखा अधिकृत प्रसाईंले मात्र घुस मागेको जिकिर गरेका थिए ।