सिरहामा ७ क्विन्टल भन्दा बढी गाँजा बरामद, घरधनी फरार


सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले ७ क्विन्टल भन्दाबढी प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ । प्रहरीले सिरहाको सुखीपुर नगरपालिका ४ पोखरियाबाट ठूलो परिमाणमा लुकाइछिपाई राखिएको ७ सय १७ किलो लागूऔषध गाँजा बरामद गरेको हो ।
गोप्य सूचनाका आधारमा प्रहरी चौकी सिलौर्वापछवारी र सशस्त्र प्रहरी बेस क्याम्प खुसीपुरबाट खटिएको संयुक्त टोलीले पोखरियाकै स्थानीय मेदी यादवको घरमा खानतलासी गर्दा लुकाई छिपाइ राखिएको २७ वटा प्लास्टिकको पोकाबाट ७ सय १७.६ किलोग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको सबै गाँजालाई आवश्यक कानुनी प्रक्रिया पुरा गरी जिल्ला प्रहरी कार्यालय सिरहा ल्याइएको छ । गाँजा बरामद भए पनि घटनाका मुख्य अभियुक्त घरधनी मेदी यादव फरार रहेका छन् । फरार रहेका यादवको खोजी कार्य भइरहेको जिल्ला प्रहरी प्रवक्ता पासवानले जनाएको छ ।
भारतको बिहारमा मदिरा बन्द गर्नुको कारण भारतीय बजारमा गाँजाको माग बढेकोले नेपालबाट प्रतिबन्धित लागूऔषध गाँजा सरोकारवाला निकायकै सेटिङ्गमा व्यापक तस्करी भइरहेको स्थानीय बताउँछन् ।
सिरहाको धनगढी, लाहान, गोलबजार, मिर्चैया र बन्दिपुर लगायतको लोक मार्गको उत्तरी क्षेत्रमा गाँजा सङ्कलन गरी जिरोमाईल बडियारपट्टी हुँदै भारतीय बजारसम्म जाने गरेको स्थानीयको भनाइ छ । सरोकारवाला कै मिलेमतोमा यस क्षेत्रबाट गाँजा तस्करी हुने गरेको स्थानीयको आरोप छ ।