अख्तियारलाई ज्ञापनपत्र बुझाउँदै राप्रपाले भन्यो– ‘भ्रष्टाचार महामारी बन्यो, छानबिन गर’


काठमाडौैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशमा फैलिएको भ्रष्टाचारको छानबिन र कडा कारबाहीको माग गर्दै शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ज्ञापनपत्र बुझाएको छ ।
अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राजधानीमा प्रदर्शनसहित बुझाइएको ज्ञापनपत्रमा नेपालमा भ्रष्टाचार महामारीको रूपमा फैलिएको उल्लेख छ ।
राप्रपाले केन्द्र, प्रदेश र स्थानीय तहबीच नै भ्रष्टाचारका लागि प्रतिस्पर्धा चलेको’ भन्दै ‘अहिले भ्रष्टाचार कहाँ छ भनेर खोज्नु परेन, कहाँ छैन’ भनेर खोज्नुपर्ने अवस्था आएको बताएको छ ।
सुडान घोटाला, ललिता निवास, वाइड बडी, ओम्नी समूहसँगको स्वास्थ्य सामग्री खरिद, र एनसेल कर छली जस्ता ठूला प्रकरणमा प्रभावकारी अनुसन्धान नहुँदा अख्तियारको निष्पक्षतामाथि प्रश्न उठेको राप्रपाको भनाइ छ ।
ज्ञापनपत्रमा राजनीतिक नेतृत्वको संरक्षण र संलग्नता बिना यस्ता ठूला भ्रष्टाचारहरू कर्मचारी संयन्त्रबाट मात्र हुन नसक्ने भन्दै भ्रष्टाचारको मूल जरो नै राजनीतिक तह हो, त्यसैले राजनीतिक नेतृत्वलाई छानबिन र कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरिएको छ ।
हालैका नक्कली भुटानी शरणार्थी काण्ड, सहकारी ठगी प्रकरण, र मन्त्रीहरूको अडियो प्रकरणजस्ता घटनाले नेपाललाई अन्तर्राष्ट्रिय समुदायमा बदनाम गराएको आरोप पनि राप्रपाले लगाएको छ ।
पोखरा र गौतमबुद्ध विमानस्थल, मणिपाल मेडिकल कलेज, चिनियाँ विमान खरिद, कृषि अनुदान दुरुपयोग लगायतका ठूला काण्डमा भइरहेको ढिलासुस्तीप्रति पनि ध्यानाकर्षण गराइएको छ ।
राप्रपाले सबै नयाँ तथा पुराना भ्रष्टाचार प्रकरणमा पुनः र व्यापक छानबिन गरी दोषी राजनीतिक नेतृत्वलाई उन्मुक्ति नदिन अख्तियारसँग माग गरेको छ ।