मतदाताको अधिकार सुनिश्चित गर्न सडक संघर्षमा जान तयार छौं : प्रचण्ड

काठमाडौं । नेपाल मतदाता अधिकार मञ्चले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निर्वाचनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सुझावसहितको ध्यानाकर्षण पत्र बुझाएको छ ।
ध्यानाकर्षण पत्र ग्रहण गर्दै प्रचण्डले निर्वाचन प्रणालीमा परिवर्तनका लागि माओवादी केन्द्रले निरन्तर आवाज उठाउँदै आएको जानकारी दिए ।
उनले मतदाता अधिकार मञ्चका मागहरू सकारात्मक रहेको उल्लेख गर्दै परिवर्तनका लागि आन्दोलन आवश्यक पर्न सक्ने र जनताका माग स्थापित गर्न सडक संघर्षमा जान पनि तयार रहेको बताए । प्रचण्डले मञ्चका सदस्यहरूलाई पनि त्यसका लागि तयारी अवस्थामा रहन आग्रह गरे ।
मतदाता अधिकार मञ्चले निर्वाचन प्रणालीमा सुधार, प्रतिनिधित्वको समावेशीकरण र मतदाताको अधिकार सुनिश्चित गर्ने सम्बन्धमा विभिन्न मागहरू प्रचण्डसमक्ष पेस गरेको छ ।