श्रीलङ्काका गुप्तचर प्रमुख निलन्था जयवर्दना बर्खास्त


एजेन्सी । श्रीलङ्काको स्वतन्त्र नियामक राष्ट्रिय प्रहरी आयोगले सन् २०१९ को इस्टर सन्डे बम विस्फोट रोक्न असफल भएको भन्दै तत्कालीन राज्य गुप्तचर सेवा प्रमुख निलन्था जयवर्दनालाई बर्खास्त गरेको छ । उक्त बम विस्फोटमा ४५ विदेशीसहित २ सय ७९ जनाको मृत्यु भएको थियो ।
प्रहरी आयोगले शनिबार राति जारी गरेको विज्ञप्तिअनुसार, जयवर्दनालाई इस्लामिक चरमपन्थीहरूको आसन्न आक्रमणको पूर्व चेतावनीलाई बेवास्ता गरेको र लापरवाही तथा कर्तव्य अवहेलनाका सबै सातवटा मामिलामा दोषी ठहर गरिएको छ । अदालतको रेकर्डले उनलाई आक्रमणको १७ दिनअघि नै सम्भावित आतङ्कवादी हमलाका बारेमा सचेत गराइएको देखाएको थियो ।
इस्टर सन्डेमा तीनवटा होटल र तीनवटा चर्चलाई लक्षित गरी भएको समन्वित आत्मघाती आक्रमणमा ५ सयभन्दा बढी मानिस घाइते भएका थिए । श्रीलङ्काको नागरिकहरूमाथि भएको सबैभन्दा खराब आतङ्कवादी आक्रमणका रूपमा लिइएको यस घटनापछि जयवर्दनालाई एसआइएस प्रमुखबाट हटाइए पनि प्रहरी बलको उपप्रमुखमा बढुवा गरिएको थियो । यद्यपि, उनीविरुद्ध कारबाही गर्न बारम्बार न्यायिक आदेश आएपछि एक वर्षअघि उनलाई अनिवार्य बिदामा राखिएको थियो ।
उच्चस्तरीय अनुसन्धानले तत्कालीन राष्ट्रपति मैत्रीपाला सिरिसेना र जयवर्दनासहित उनका चार वरिष्ठ अधिकारीलाई गल्तीका लागि आपराधिक अभियोजनको सामना गर्नुपर्ने निष्कर्ष निकालेको थियो । सन् २०२३ जनवरीमा जारी सर्वोच्च अदालतका आदेशअनुसार, उनीहरूले पीडितहरूलाई १० लाख डलरभन्दा बढी क्षतिपूर्ति पनि तिरेका छन् ।
सन् २०१९ को बम विस्फोटलाई इस्लामिक स्टेटप्रति वफादारीको वाचा गर्ने स्थानीय जिहादी समूहमाथि दोष लगाइएको थियो । राष्ट्रपति अनुरा कुमार दिसानायके नेतृत्वको श्रीलङ्काको नयाँ सरकारले इस्टर हमलाको अनुसन्धान बढाउने र जिम्मेवार व्यक्तिहरूको पर्दाफास गर्ने प्रतिबद्धता जनाएको छ ।