Ad Image

३ वर्षदेखि निर्माण रोकिएको धुलिखेल-खावा खण्ड स्तरोन्नति गरिँदै

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Highway_Dhulikhel Khawa_Kavre.JPG

काभ्रे । तीन वर्षदेखि निर्माण रोकिएको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति गरिने भएको छ । यसअघि निर्माण कम्पनीको लापरबाहीका कारण रोकिएको यो ४ किलोमिटर खण्डका लागि सडक डिभिजन कार्यालय भक्तपुरले बोलपत्र आह्वान गरेको छ ।

कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशका अनुसार, चार महिनाअघि पुरानो ठेक्का रद्द गरी ४२ करोड रुपैयाँको स्रोत सुनिश्चित गर्दै १४ महिनाभित्र काम सम्पन्न गर्नेगरी पुनःठेक्का आह्वान गरिएको हो । पहिलो चरणमा आगामी फागुनसम्म कालोपत्रे सक्ने र बाँकी काम निर्धारित समयभित्र पूरा गर्ने लक्ष्य राखिएको छ ।

स्थानीय सांसद गोकुलप्रसाद बाँस्कोटाले समयमा काम नहुँदा जनताले सास्ती पाएको र अब समस्या समाधान हुनेमा आशावादी रहेको बताए । उनकै दबाबपछि पुरानो ठेक्का रद्द गरी नयाँ बोलपत्र आह्वान गरिएको हो ।

धुलिखेल–खावा खण्ड अरनिको राजमार्ग हुँदै चीनको तातोपानी नाका र दोलखा, रामेछापलगायतका जिल्ला जोड्ने मुख्य सडक भएकाले निर्माणमा ढिलाइ हुँदा ट्राफिक जाम र दुर्घटनाको जोखिम बढेको थियो । 

हालसम्म धुलिखेल बसपार्कबाट जिपलाइनसम्म डाँडा कटिङ र केही नालीको काम मात्र भएको छ, जबकि जिपलाइनबाट खावासम्मको करिब १ किमि सडक कटिङ बाँकी छ । नयाँ ठेक्का प्रक्रियापछि भदौ अन्तिम साता वा असोजदेखि काम सुरु हुने तयारी छ ।

यो सडकखण्डलाई १२ मिटर फराकिलो बनाई ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस र त्यसपछि डिबिएम तथा आस्फाल प्रविधिबाट कालोपत्रे गरिने योजना रहेको छ ।