ईश्वर पोखरेल भन्छन्- ‘विद्या भण्डारीको सदस्यता नवीकरण भइसक्यो’


काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण भइसकेको बताएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति भण्डारीबीच पार्टी मुख्यालय च्यासलमा भइरहेको भेटवार्ताका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पोखरेलले यस्तो जानकारी दिएका हुन् ।
‘सदस्यता नवीकरण गरिसकेको विषय त महासचिवले नै भनिसक्नुभएको छ,’ पोखरेलले भने । उनले अहिले पार्टी राजनीतिमा बाहिर आएका ज्वलन्त विषयहरूमै ओली र भण्डारीबीच छलफल भइरहेको जानकारी दिए ।
पोखरेलका अनुसार, आजको छलफलमा भण्डारीको पार्टीमा जिम्मेवारी तोक्ने लगायतका विषयमा कुराकानी भइरहेको हुन सक्छ । उनले पार्टीमा फर्कंदा पनि सल्लाह गरेर आउने गरी छलफल भइरहेको संकेत गरे। ओली र भण्डारीबीच अहिले एक्लाएक्लै वार्ता चलिरहेको छ ।