Ad Image

ओली–भण्डारी भेट: च्यासलमा डेढ घण्टा वार्ता, राष्ट्रिय राजनीति र 'कमब्याक'बारे कुराकानी

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Bidhya-bhandari-kp-oli.jpg

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा ‘वान टु वान’ भेटवार्ता सम्पन्न भएको छ । करिब डेढ घण्टा चलेको यस संवादले च्यासलस्थित एमाले कार्यालयमा निकै चहलपहल बढाएको थियो ।

भण्डारी कार्यालय पुग्दा ओली आइसकेका थिएनन् । सो समयमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शङ्कर पोखरेलले भण्डारीसँग करिब आधा घण्टा कुराकानी गरेका थिए । ओली आउनासाथ नेताहरूले संयुक्त फोटोसेसन गरेपछि ओली र भण्डारी चेम्बरभित्र पसेर वार्ता गरेका थिए ।

भेटवार्तापछि बाहिरिँदा ओली गम्भीर मुद्रामा देखिएका थिए भने पत्रकारसँग कुरा गर्ने रुचि देखाएनन् । भण्डारीले भने पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीसँग राष्ट्रिय राजनीतिको समसामयिक विषयमा मात्र कुरा भएको दाबी गरिन् । उनले आफ्नो पार्टी सदस्यता पहिले नै नवीकरण भइसकेको पनि जानकारी दिइन् ।

पूर्वराष्ट्रपति भण्डारी जिम्मेवारीबाट बाहिरिएपछि पहिलोपटक एमाले मुख्यालय च्यासल पुगेकी हुन् । उनलाई एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे र केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले स्वागत गरेका थिए ।

भण्डारीले यसअघि नै पार्टी राजनीतिमा आउने सार्वजनिक घोषणा गरेकी थिइन्, जसले एमालेको सचिवालय र पोलिटब्युरो बैठकमा बहस निम्त्याएको थियो । 

शनिबार सम्पन्न पोलिटब्युरो बैठकमा अधिकांश सदस्यहरूले पूर्वराष्ट्रपति जस्तो गरिमामय पदमा रहिसकेको व्यक्ति सक्रिय राजनीतिमा आउन नहुने विचार व्यक्त गरेका थिए ।