त्रिभुवन विमानस्थलको अध्यागमनमा खटाइयो ४५ जना नयाँ अधिकृत

काठमाडौं । अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४५ जना नयाँ अधिकृत खटाइएको छ । गृह मन्त्रालयले हालै लोकसेवाको परीक्षा उत्तीर्ण गरेर तालिम लिएका ४५ जनालाई सोमवारदेखि विमानस्थल अध्यागमनमा खटाएको हो ।
केही समयअघि गृह मन्त्रालयले विमानस्थलमा खटिएका ४५ शाखा अधिकृतलाई मन्त्रालय तानेको थियो । त्यसको बदलामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलले पठाएको विवरण अनुसार ४५ अधिकृतलाई खटाइएको हो ।
कर्मचारीकै मिलेमतोमा भिजिट भिसाका नाममा मानव तस्करी भएको भन्दै ७ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थलमा छापा मारेको थियो । उक्त कार्यमा संलग्न भएको आरोपमा तत्कालीन अध्यागमन प्रमुख तीर्थराज भट्टराई समेत पक्राउ गरिएको थियो । यस बारेमा आयोगमा छानबिन भइरहेको छ ।