पुस्तकालय बनाउन ६० लाख दिन्छु भन्ने गगन थापाका साथी हराएपछि...


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पुस्तकालय निर्माणका लागि ६० लाख रुपैयाँ दिने वाचा गरेका एक ’साथी’ हराएको गुनासो गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै थापाले ती साथीले हिम्मत नदिएको भए पुस्तकालय बनाउने प्रस्ताव सभापतिसमक्ष लैजाने आँट नआउने बताए ।
थापाका अनुसार, ती साथीले ६० लाख रुपैयाँ दिने र बाँकी ४० लाख रुपैयाँ पार्टीका साथीहरूबाट उठाउने जिम्मा लिएका थिए । तर, करिब १ करोड रुपैयाँको लागत अनुमान गरिएको पुस्तकालयको डिजाइन भएपछि ती साथी फर्केर नआएको उनले बताए । यस कोषमा सभापति शेरबहादुर देउवाले १ लाख रुपैयाँ जम्मा गरेका छन् ।
फरक प्रसंगमा थापाले कांग्रेस ‘पुरानो भयो, थोत्रो भयो’ भन्ने नकारात्मक भाष्य समाजमा स्थापित भइरहेकोमा चिन्ता व्यक्त गरे । उनले कांग्रेस यसबाट बाहिर निस्किएर ’पुरानो भएकोमा गौरव’ गर्नुपर्ने तर्क राखे ।