सिरहा कारागारमा भएको झडपबारे प्रतिवेदन तयार


सिरहा । जिल्ला कारागार सिरहामा आइतबार भएको कैदीबन्दीबीचको झडप सम्बन्धमा कारागार प्रशासनले विस्तृत अनुसन्धान प्रतिवेदन तयार गरेको छ ।
कारागार प्रमुख सुवोध महतोले झडपको कारण, घटनास्थलको विवरण, कैदीबन्दीको सङ्लग्नतालगायत पक्ष समेटिएको प्रतिवेदन तयार पारिएको बताए ।
उनले प्रतिवेदन तयार भएको र मङ्गलबार जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा प्रतिवेदन बुझाएपछि आउने निर्देशनअनुसार थप प्रक्रिया अघि बढ्ने बताए ।
कारागारभित्र ‘मुख्य नाइके’ को विषयमा भएको विवाद भएको र सोही कारण देखाउँदै उत्पन्न झडपमा १३ जना कैदीबन्दी घाइते भएका थिए ।
जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख चेतराज बरालले कारागारबाट प्राप्त प्रतिवेदनको आधारमा थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइने जानकारी दिए ।
उनले भने, “कारागारले प्रतिवेदन दिएपछि प्रहरीले विस्तृत रूपमा अनुसन्धान गर्नेछ, त्यसपछि सत्य तथ्यका आधारमा कानुनी कारबाही अघि बढ्नेछ ।”