भारतीय उपराष्ट्रपति धनखरले दिए राजीनामा


एजेन्सी । भारतका १४औँ उपराष्ट्रपति जगदीप धनखरले स्वास्थ्यको कारण देखाउँदै आफ्नो पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा जुलाई २१ (हिजो) रातिदेखि लागू हुने गरी राष्ट्रपति द्रौपदी मुर्मुलाई बुझाइएको छ । ७४ वर्षीय धनखरको कार्यकाल १० अगस्ट २०२७ सम्म थियो ।
धनखरले जुलाई १० मा मात्रै आफू अगस्ट २०२७ मा मात्रै अवकाश हुने बताएका थिए, तर त्यसको ११ दिनपछि अचानक उनको राजीनामा आएको हो । उनले राजीनामा पत्रमा ’स्वास्थ्य र चिकित्सा सल्लाहलाई प्राथमिकता दिँदै तत्काल प्रभावबाट भारतको उपराष्ट्रपति पदबाट राजीनामा दिँदैछु’ भनी लेखेका छन् ।
उनले सहयोगका लागि राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रिपरिषद्लाई धन्यवाद दिएका छन् । यद्यपि, उनको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेपछि मात्र लागू हुनेछ । ११ अगस्ट २०२२ मा उपराष्ट्रपतिको शपथ लिएका धनखरले चुनावमा विपक्षी उम्मेदवार मार्गरेट अल्भालाई पराजित गरेका थिए ।
अहिले भारतीय संसदको मनसुन अधिवेशन चलिरहेको छ, र उपराष्ट्रपति राज्य सभाका अध्यक्ष पनि हुन् । अधिवेशनको बीचमा पदबाट राजीनामा दिने उनी देशका पहिलो उपराष्ट्रपति हुन् । यस्तै, आफ्नो कार्यकालको बीचमा राजीनामा दिने उनी तेस्रो उपराष्ट्रपति पनि हुन् । उनको राजीनामा स्वीकृत हुने जनाइएको छ ।