Ad Image

बेलायती सांसद भन्छिन्– ‘निदाएको बेला पनि बला*त्कार भोगिरहेँ, कसैले पत्याउँदैन भन्थे’

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/belayati sansad.jpg

एजेन्सी । बेलायतकी पूर्व सांसद केट निभेटनले आफ्ना पूर्व पति तथा पूर्व सांसद एन्ड्रयु ग्रिफिथमाथि वैवाहिक जीवनमा यौन दुव्र्यवहार र घरेलु हिंसाको गम्भीर आरोप लगाएकी छन् । ब्रिटिश टिभी च्यानल आइटीभीवानमा प्रसारण हुन लागेको एक वृत्तचित्रमार्फत केटले ग्रिफिथले आफू निदाएको बेला धेरै पटक बलात्कार गरेको खुलासा गरेकी हुन् ।

केटले वृत्तचित्रमा भनेकी छन्, “म निदाएको बेला पनि उसले मसँग यौनसम्पर्क गर्न बाध्य बनाउँथ्यो। कहिलेकाहीँ म सहने गर्थेँ, तर कहिलेकाहीँ म रुन्थेँ। त्यसपछि उसले रिसाएर मलाई ओछ्यानबाट निकालिदिन्थ्यो, म रोएँ र त्यो बेला म निकै डराउँथेँ पनि। तर उसले भन्थ्यो, ’तेरो कुरा कसैले पत्याउने छैन, म सांसद हुँ, प्रहरी पनि साथमा छ।” उनले धेरै पटक आफैंलाई कोठामा बन्द गरेको र घर छाडेर हिँड्न बाध्य भएको पनि स्मरण गरेकी छन् ।

ग्रिफिथ र केटले २०१३ मा विवाह गरेका थिए तर दुवै सन् २०१८ मा छुट्टिएका थिए । केटले छोरी दुई हप्ताकी मात्र हुँदा ग्रिफिथले दूधका लागि रोइरहेकी छोरीसँग ‘चुप लाग बदमास’ भन्दै चिच्याएको घटना पनि सम्झिइन् । उनले थपिन्, “मानिसलाई मध्यमवर्गीय पेशागत मानिसमा यस्तो हुँदैन भन्ने लाग्छ। घरेलु हिंसा गरिब वर्गमा मात्र हुन्छ भन्ने मानिसलाई लाग्छ तर सत्य यो कसैलाई पनि हुन सक्छ।”

सन् २०२१ मा बेलायतको एउटा पारिवारिक अदालतले ग्रिफिथले श्रीमती केटलाई पटकपटक बलात्कार गरेको र बारम्बार शारीरिक हिंसा गरेको स्वीकार गरेको थियो । अदालतले उनलाई मानसिक यातना दिएको पनि पुष्टि गरेको थियो । केटका अनुसार, ५ वर्ष यातना सहेपछि ५ वर्षसम्म कानुनी व्यवस्थासँग लड्नु परेको र छुट्टिएपछि पनि ५ वर्षसम्म ग्रिफिथले उनलाई कानुनी व्यवस्था मार्फत दुव्र्यवहार गरिरहेका थिए । अदालतले समेत सुरक्षा दिन नसक्ने हजारौं महिलाको यो अवस्था रहेको उनको दाबी छ ।

केटको यो सम्पूर्ण कथा आइटीभीवान च्यानल र यसको डिजिटल प्लेटफर्म आइटीभीवानमा ’ब्रेकिङ द साइलेन्सः केट स्टोरी’ नामक वृत्तचित्रमार्फत अब देखाइँदैछ । यो वृत्तचित्रमा केटको व्यक्तिगत कथाका साथै बेलायतको पारिवारिक अदालतले हरेक वर्ष ३० हजारभन्दा बढी घरेलु हिंसाका मुद्दाहरूमा कसरी कमजोर निर्णय लिन्छ भन्ने पनि देखाइनेछ ।