प्रधानमन्त्री ओली र चिनियाँ विकास नियोगका अध्यक्षबीच भेटवार्ता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटवार्ता भएको छ ।
भेटमा दुई देशबीचको आपसी सम्बन्ध, सोमबार अर्थ मन्त्रालयमा भएको दुईपक्षीय समझदारी र उच्चस्तरीय भ्रमणका अवसरमा भएका विकास सहकार्यका सम्झौता कार्यान्वयनलगायत विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको दोहोर्याउँदै, हालैको बाढीले रसुवागढी नाकामा पुगेको क्षति मर्मतमा चीन सरकारले प्राथमिकता दिएकोमा धन्यवाद व्यक्त गरे । उनले नेपाललाई भूपरिवेष्टितबाट भूजडित बनाउन किमाथाङ्कालगायत अन्य चिनियाँ नाकाहरूको सञ्चालन र ’बेल्ट एन्ड रोड इनिसिएटिभ फ्रेमवर्क’ अन्तर्गतका परियोजनाहरू बिना अवरोध अघि बढ्नुपर्नेमा जोड दिए ।
भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडा, नेपालका लागि चीनका राजदूत चेन सोङ र परराष्ट्र मन्त्रालयका उच्चाधिकारीहरूको उपस्थिति थियो ।
सिड्का प्रतिनिधिमण्डलले चीन सरकारको सहयोगमा सञ्चालित र आगामी परियोजनाहरूबारे उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग पनि छलफल गरेको थियो । सो अवसरमा चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ’बोनम्यारो ट्रान्सप्लान्टेसन’ सम्बन्धी परियोजना र निजामती कर्मचारी अस्पतालको विस्तारका लागि सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भयो ।
यसैगरी, मानव संसाधन विकाससम्बन्धी समझदारीपत्र र रसुवागढी–केरुङ अन्तरदेशीय विद्युत् प्रसारणलाइन निर्माणको सम्भाव्यता अध्ययनसम्बन्धी ’माइन्युट’ मा पनि हस्ताक्षर भएको छ ।