विदेश त्यागेर फर्किएका कुमार खुर्सानी खेतीबाट गर्छन् मनग्य आम्दानी


भोजपुर । कृषिप्रति यहाँका युवाको मोह बढ्दै गएको छ । वैदेशिक रोजगारबाट फर्केर यहाँका युवाहरू व्यावसायिक कृषिमा जुट्न थालेका छन् । भोजपुर नगरपालिका–५ बोखिमका कुमार विष्ट विदेश छाडेर कृषि व्यवसायमा लागेका छन् । वैदेशिक रोजगारीका सिलसिलामा आठ वर्ष बिताएका उनी व्यावसायिक जैविक अकबरे खुर्सानी खेतीमा जुटेका हुन् ।
विदेशमा दुःख गर्नुभन्दा आफ्नै गाउँठाउँमा व्यावसायिक बनेर कृषि गर्न सके राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ । “वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न देशमा गरी आठ वर्ष बिताएँ, अहिले विदेश छाडेर यहाँ नै व्यावसायिक कृषिमा लागेको छु । परिवारसँग बसेर आफ्नै ठाउँमा विदेश बराबरको आम्दानी गरिरहेको छु”, उनले भने ।
‘उन्नति कृषि तथा पशुपालन फार्म’ दर्ता गरेर गाउँमा नै व्यावसायिक रूपमा कृषि पेसामा जुटेको उनको भनाइ छ । राम्रो मूल्य पाएको खण्डमा यो वर्ष खुर्सानीखेतीबाट रु दुईदेखि तीन लाखसम्म आम्दानी लिने लक्ष्य रहेको उनको भनाइ छ । आफ्नो बारीमा अहिले एक हजार ४०० बोट खुर्सानी लगाएको उनी बताउँछन् । युवाहरूमा विदेशप्रतिको मोह बढिरहेको अवस्थामा कृषिबाट उदाहरणीय बन्ने लक्ष्यका साथ कृषिकर्ममा जुटेको उनले बताए ।
“हामी युवाहरू आफ्नो ठाउँमा सम्भावना खोजी गर्न छाडेर विदेश गइरहेको छौँ, राम्रो व्यावसायिक योजना बनाएर कृषि गर्न सकेमा यहाँ नै राम्रो आम्दानी लिन सकिने रहेछ । कृषि गरेर घरपरिवारलाई राम्ररी चलाएको छु”, उनले भने ।
आफ्नो बारीमा उत्पादन भएको अकबरे खुर्सानी स्थानीय बजारमा प्रतिकेजी रु दुई सयदेखि तीन सयमा बिक्री हुने गरेको उनी बताउँछन् । यहाँ उत्पादन भएको खुर्सानी स्थानीय बजारसँगै धरान, विराटनगर काठमाडौँलगायत सहरमा जाने गरेको उनको भनाइ छ ।
पछिल्लो समय खुर्सानीमा पात कुप्रो पर्ने, फलमा कीरा लाग्ने, जरा कुहिनेलगायत रोग देखिन थालेको उनाको भनाइ छ । खुर्सानीखेतीसँगै पशुपालन पनि गरिरहेकाले प्राङ्गारिक मलको प्रयोग गरेर जैविक प्रविधिबाट खुर्सानीखेती गर्दै आएको विष्टले बताए ।
मानव स्वास्थ्यलाई ध्यानमा राखेर गोबर मलको मात्र प्रयोग गरेको उनले बताए । “मैले अग्र्यानिक अकबरे खुर्सानीखेती गरिरहेको छु”, उनी भन्छन्, “मानव स्वास्थ्यलाई ध्यानमा राखेर मैले अग्र्यानिक खेतीमा जोड दिएको हुँ ।” करिब आठ रोपनी क्षेत्रमा सुन्तलाको व्यावसायिक खेती गरिरहेको पनि उनले बताए ।
व्यावसायिक कृषिमा लागेका किसानलाई तालिमसँगै प्राविधिक सहयोग भएमा थप सहजता हुने उनको भनाइ छ । राज्यले किसानलाई उनीहरूको व्यावसायिक योजनाको आधारमा अनुदानसँगै आवश्यक सहयोग गर्नुपर्ने उनले बताए ।