Ad Image

कुलिङ पिरियडमा एमालेको संशोधनबारे माओवादीले माग्यो स्पष्टीकरण

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/RatnaSherestha-KTM-6IMG_20250722_135916copy.jpg

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले निजामती विधेयकमा प्रस्तावित ‘कुलिङ पिरियड’ (अवकाशपछि २ वर्ष नियुक्ति नदिने प्रावधान) बारे सरकारको नेतृत्वकर्ता नेकपा एमालेको धारणा स्पष्ट गर्न माग गरेको छ ।

मंगलबार राष्ट्रिय सभामा विशेष समय लिएर बोल्दै माओवादी सांसद रेणु चन्दले एमालेभित्र कुलिङ पिरियडमा एकमत नरहेको शंका व्यक्त गरिन् । उनले हालै सूचना प्रविधि तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले निजामती विधेयक पेस गर्दा ‘प्रतिनिधिसभाबाट आएको विधेयकमा भाइरस पस्यो, राष्ट्रिय सभाले ठीक गरिदिन्छ’ भनी दिएको अभिव्यक्तिको स्मरण गराइन् ।

मन्त्री गुरुङले २ वर्षको कुलिङ पिरियड राख्ने गरी राज्य व्यवस्था समितिले अगाडि बढाएको विधेयकमा ’एक्सिडेन्ट भयो, भाइरस पस्यो’ भन्दै राष्ट्रिय सभाबाट त्यसलाई हटाउन आग्रह गरेका थिए । यही अभिव्यक्तिमा टेकेर सांसद चन्दले एमालेका सांसदहरूले कुलिङ पिरियड हटाउन संशोधन प्रस्ताव राख्नुले मन्त्रीको लाइन र संशोधन हाल्ने सांसदको लाइन नमिलेको हो कि? भन्ने प्रश्न गरिन् ।

यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै जोडेर हेर्नुपर्ने बताउँदै उनले ‘त्यही पार्टीको मन्त्रीले यहाँ सुधार्नुपर्यो भन्छ । त्यही पार्टीका माननीयज्यूहरूले अलग तरिकाले संशोधन हाल्नुहुन्छ । त्यसैले यो भाइरसलाई गुट ब्याक्टेरिया बुझेर कन्फ्युज त हुनुभएन माननीयज्यू?’ भन्दै व्यंग्यात्मक प्रश्न गरिन् ।