Ad Image

विद्या भण्डारी भन्छिन्– ‘म एमालेमा सक्रिय छु, अब पछि हट्दिनँ’

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Bidhya-devi-bhandari-768x375.png

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएको र अब पछि नहट्ने स्पष्ट पारेकी छन् । आफ्नै निवास भंगालमा पत्रकारहरूसँग कुरा गर्दै उनले महाधिवेशन अगावै नेतृत्वको बहस चलाएर कार्यकर्ता विभाजित गर्न खोजिएको आरोप लगाइन् ।

भण्डारीले आफू पछि नहट्ने भन्दै कार्यकर्तालाई आतंकित पार्ने काम रोकिनुपर्नेमा जोड दिइन् । उनले जिल्ला र प्रदेशदेखि नै समूहगत विभाजन गरेर कार्यकर्तालाई आतंकित पार्ने र बोल्न नदिने प्रयास भइरहेको बताएकी छन् ।

कठिन समयमा पार्टी र महिला आन्दोलन हुँदै देशको नेतृत्व गरेको स्मरण गर्दै भण्डारीले अनावश्यक रूपमा विवाद उचाल्न खोजिएकोमा असन्तुष्टि जनाइन् । उनले भनिन्, “दल चाहिँ अनैतिक अखडा हो? उच्च नैतिकताको मान्छे दलमा आयो भने दल पनि त नैतिकतावान हुन्छ नि। अहिले जसरी कार्यकर्तालाई टेरर गर्ने, बोल्न नदिने र बोलेबापत कारबाही गर्ने भन्न थालिएको छ, यो ठीक छैन।”

भण्डारीले आफ्नो सदस्यता नवीकरण भइसकेको र यस विषयमा अध्यक्ष केपी शर्मा ओलीसँग कुरा भएको जानकारी दिइन् । उनले नयाँ वर्षको आफ्नो वक्तव्यपछि ओली चिढिएको समेत खुलासा गरिन् ।