जनार्दनको प्रश्न– कम्युनिस्ट पार्टीको नेतृत्वमा बनेका सरकारले जनतालाई के दियो?

No Author Assigned | २०८२ साउन ६ गते ११:०८
Image of https://mayorsap.com/storage/photos/10/janardan-sharma.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेपालका कम्युनिस्ट प्रधानमन्त्रीहरूले ‘असुली धन्दा’ गरेको गम्भीर आरोप लगाएका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा सोमबार माक्र्सवादी अध्ययन केन्द्रले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

शर्माले मनमोहन अधिकारीबाहेक अन्य कम्युनिस्ट नेताले असुली धन्दा गरेको दाबी गरे । “प्रधानमन्त्रीले भ्रष्टाचार नगर्ने र गर्न नदिने हो भने आधा भ्रष्टाचार त्यसै घट्छ। तर त्यस्तो संकल्प हाम्रो नेतृत्वमा देखिएन,” उनले भने, “दुःखका साथ भन्नुपर्छ मनमोहन बाहेक अरू कम्युनिस्ट नेताले असुली धन्दा गरैकै छन्, यो ठहर भएकै छ।” उनले यसलाई आरोप नभई यथार्थका रूपमा बुझ्न आग्रह गरे ।

९ पटक कम्युनिस्ट नेतृत्वमा सरकार बन्दा पनि देशको गरिबी र युवा पलायनको अवस्था उस्तै रहेको भन्दै शर्माले कम्युनिस्ट पार्टीको नेतृत्वमा बनेका सरकारले जनतालाई के दियो?’ भन्दै प्रश्न समेत गरे ।

‘आज इतिहासको सबैभन्दा कटु प्रश्न हो यो। ९ पटक सरकारको नेतृत्व गर्दा हामीले के दियौं? के बदल्यौं? वा के गर्यौं? यो गम्भीर प्रश्न छ।’ उनले यो प्रश्नको उत्तर आजका कम्युनिस्ट पार्टीका व्यवहार र तरिकालाई फेर्न सक्ने÷नसक्नेमा भर पर्ने बताए ।


Facebook Comments