Ad Image

केदारनाथ मन्दिरलाई जोड्ने गरी पदमार्ग निर्माण

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Padmarg 1.jpg

वालिङ । गल्याङ नगरपालिका–७ स्थित धार्मिक एवम् पर्यटकीयस्थल केदारनाथसम्म पुग्न पदमार्ग निर्माण गरिएको छ । गल्याङ–८ चिउरीस्थित सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गबाट केदारनाथ मन्दिरलाई जोड्ने गरी पदमार्ग निर्माण गरिएको हो ।

अग्लो पहाडमा अवस्थित केदारनाथ मन्दिरसम्म दर्शनार्थीको सहजताका लागि गल्याङ नगरपालिकाले पदमार्ग निर्माण गरेको हो । दर्शनार्थीलाई आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यले पदमार्ग निर्माण गरिएको पदमार्ग निर्माण समितिका अध्यक्ष टुकराज पाठकले बताए । नगरपालिकाले पदमार्ग निर्माण गर्न आर्थिक वर्ष २०८०\८१ मा रु १० लाख र आव २०८१\८२ मा रु दश लाख विनियोजन गरेको उनी बताउँछन् ।

विनियोजित बजेटबाट ३८५ मिटर लामो पदमार्ग निर्माण गरिएको छ । मन्दिरसम्म पुग्न स्टिलको रेलिङ समेत जडान गरिएको छ । सुनौली–पोखरा सिद्धार्थ राजमार्गमा यात्रा गर्ने भारतीय पर्यटकलाई समेत यसतर्फ आकर्षित गर्न सकिने उक्त मन्दिरका पुजारी काशीराम सापकोटाले बताए ।

चट्टानै चट्टानले बनेको गुफाजस्तोमा रहेको मन्दिरमा भगवान शिवको प्रतिमूर्ति देख्न सकिन्छ । प्राकृतिक चट्टानबाट निर्मित शिवको प्रतिमूर्ति, नन्दीलगायतका अन्य थुप्रै आकृति यहाँ देख्न पाइने पुजारी सापकोटा बताउँछन् । 

मन्दिरलाई व्यवस्थित बनाउन २०७२ सालमा महायज्ञ सञ्चालन गरिएको थियो । उक्त    महायज्ञबाट सङ्कलित दुई करोडबाट मन्दिरमा नयाँ संरचना तथा पूर्वाधार निर्माण गरिएको छ । सिद्धार्थ राजमार्गसँगै जोडिएको आँधीखोलामाथि बनेको अग्लो झोलुङ्गे पुल हुँदै झण्डै १५ मिनेटको पैदल दूरीमा यहाँ पुग्न सकिन्छ ।