Ad Image

प्रदेश सरकारले सप्तरीमा ट्याङ्करमार्फत खानेपानी वितरण गर्दै

User Image मेयरसाप डेस्क | ८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/damkal.jpeg

सप्तरी । सप्तरीमा खानेपानीको अभाव भएपछि प्रदेश सरकारले दमकल\ट्याङ्करमार्फत खानेपानी वितरण सुरु गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनपछि हाल रुपनी गाउँपालिका वडा नं १ र २ मा खानेपानी वितरण सुरु भइसकेको छ ।

यसका अतिरिक्त राजगढ गाउँपालिका, अग्निसाइर कृष्णासवरण गाउँपालिका, विष्णुपुर गाउँपालिका तथा सुरुङ्गा नगरपालिकामा खानेपानी अभाव देखिएका बस्तीमा पनि पानी आपूर्ति विस्तार गर्दै लगिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेशकुमार झाले जानकारी दिए ।

स्थानीय तहहरूको मागका आधारमा प्रमुख जिल्ला अधिकारी भोला दाहालको समन्वय र नेपाली सेनाको सहयोगमा ट्याङ्करबाट पानी वितरण अभियान सञ्चालन गरिएको हो । यस क्रममा लाग्ने सम्पूर्ण खर्च प्रदेश सरकारले बेहोर्ने व्यवस्था गरिएको छ । 

खानेपानी आपूर्तिलाई थप प्रभावकारी बनाउन प्रत्येक पालिकामा सम्पर्क व्यक्ति तोकिएको जनाइएको छ ।