Ad Image

दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण सुरु

User Image मेयरसाप डेस्क | ८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/IMG_20250722_104737.jpg

दोधारा चाँदनी । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थित सुक्खा बन्दरगाहको निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल र भारतीय निर्माण कम्पनी कम्ट कन्ट्रक्सनका सञ्चालक सुनिल शर्माले आज संयुक्त रूपमा निर्माण कार्यको शुभारम्भ गरे ।

सन् २००७ मा सरकारले घोषणा गरेपछि सुदूरपश्चिमवासीले १८ वर्षदेखि यस बन्दरगाहको प्रतीक्षा गरिरहेका थिए । कार्यकारी निर्देशक गजुरेलका अनुसार रुख कटानको काम सकिएपछि भारतीय कम्पनीले प्रारम्भिक काम (फिलिङ, पर्खाल निर्माण र सामग्री ल्याउने) सुरु गरेको छ । यसको विधिवत् शिलान्यास दुवै देशका प्रधानमन्त्रीले गर्नेछन् ।

यो बन्दरगाह निर्माणपछि सुदूरपश्चिम मात्र नभई नेपालकै आर्थिक विकासमा महत्त्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ । यसले भारतबाट वस्तु आयात गर्न सहज बनाउनुका साथै तेस्रो मुलुकसँग निर्यातको ढोका खोल्नेछ, जसले उद्योगधन्दाको विकास र रोजगारी सिर्जनामा मद्दत पुर्याउनेछ ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने यस बन्दरगाहका लागि नेपाल र भारतबीच जुन १, २०२३ मा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । भारतीय पक्षले २ अर्ब ५४ करोड ३१ लाख ९९ हजार भारतीय रुपैयाँ लागतमा ठेक्का सम्झौता गरेको छ ।

हाल भारतको रूद्रपुर औद्योगिक क्षेत्रबाट वस्तु आयात गर्न ३०० किलोमिटर घुमाएर रूपैडिया, भैरहवा वा वीरगन्ज नाका प्रयोग गर्नुपर्ने बाध्यताले यातायात महँगो हुने गरेको थियो । यो बन्दरगाह निर्माणपछि भारतको राजधानी नयाँदिल्ली र उत्तराखण्डको रूद्रपुर औद्योगिक क्षेत्रसम्म सहज पहुँच पुग्नेछ ।

बन्दरगाहका लागि प्रयोग हुने ४२.३६ हेक्टर क्षेत्रफलमा दुई गोदाम भवन, भन्सार चेकजाँच भवन, क्वारेन्टाइन भवन, इमिग्रेसन भवन, सुरक्षा भवनलगायतका पूर्वाधार निर्माण हुनेछन् । नेपालले सुक्खा बन्दरगाहसम्मको ६ लेनको पहुँचमार्ग र महाकाली नदीमा ४ लेनको पक्की पुल सञ्चालनमा ल्याइसकेको छ, भने भारतले पनि बन्दरगाहसम्मको पहुँचमार्ग निर्माण गरिरहेको छ ।