यसकारण एमालेले लगायो पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा ‘ब्रेक’ !


काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई दल विशेषको सदस्य भई सक्रिय राजनीतिमा फर्कन नमिल्ने भन्दै उनको सदस्यता नवीकरण अस्वीकृत गरेको छ । पार्टीको दुईदिने केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्दै एमालेले राष्ट्रपति पदको संवैधानिक मर्यादा र जिम्मेवारी स्मरण गराउँदै यो निर्णय गरेको हो ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जारी गरेको प्रेस विज्ञप्तिमा भण्डारीको राजनीतिक पुनरागमनले पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । विज्ञप्तिमा संविधानको धारा ६१ र २६७ लाई उद्धृत गर्दै राष्ट्रपति राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रवद्र्धक, संविधानको पालक, संरक्षक र सेनाको परमाधिपति हुने भएकाले सक्रिय राजनीतिमा फर्किएर दलको सदस्य वा नेता हुनु कल्पना गर्न नसकिने बताइएको छ ।
एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीको राजनीतिक पुनरागमनलाई अस्वीकार गर्दै आठवटा कारणसहित ‘मुलुकको राष्ट्राध्यक्ष, राष्ट्रिय गौरव, गणतन्त्रको प्रतीक, संविधानको पालनाकर्ता र संरक्षक, सेनाको परमाधिपति, साझा व्यक्तित्व र देशको अभिभावक भएकाले कुनै पनि दल विशेषको पार्टी सदस्य र कार्यकर्ता वा नेता हुने कुरा यो गौरवमय जिम्मेवारी लिएको व्यक्तिबाट सम्भव हुँदैन र मिल्दैन’ भन्ने निष्कर्ष निकालेको छ । बैठकले पूर्वराष्ट्रपतिलाई उच्च सम्मान गर्दै पूर्वराष्ट्रपति कै भूमिकामा बस्न आग्रह गरेको छ ।
बैठकले दैलेखमा मिथेन ग्यास भण्डारण पुष्टि, श्रमिकको ज्याला वृद्धि, राजावादी आन्दोलन असफल, सहकारी बेथितिको सम्बोधनजस्ता कारणले नागरिकमा आशा बढेको निष्कर्ष निकालेको छ । एमालेले नेपाली कांग्रेससँग भएको ७ बुँदे सहमतिलाई दृढतापूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै सरकारलाई प्रभावकारी बनाउन गठबन्धनका दलहरूलाई आह्वान पनि गरेको छ ।