रास्वपा र राप्रपाद्वारा संसद् बहिस्कार, सडकमा उत्रिने चेतावनी
No Author Assigned | २०८२ साउन ७ गते १५:३२काठमाडौं । प्रतिनिधिसभामा आज पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अवरोध गरेका छन् । संसदमा यी दुई दलको विरोध सुरु भएको आज ५८ दिन पुगेको छ ।
बुधबारको बैठक सुरु हुनासाथ दुवै दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । सभामुखले समय दिएपछि रास्वपाकी सांसद बिन्दबासिनी कंसाकारले ‘भिजिट भिसाका नाममा नेपाली बेचिने काम’ भइरहेको र ‘तस्करको सेटिङ’ नरोकिएको भन्दै सरकार गम्भीर नरहेको आरोप लगाइन् ।
उनले ७८ लाख घुस डिल गरेको आरोपमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिए पनि ३२ लाख घुस डिल गरेको आरोप लागेका भूमि व्यवस्थामन्त्री बलराम अधिकारी संसदमा नै रहेकोमा प्रश्न उठाइन् ।
यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ‘जताततै भ्रष्टाचार’ रहेको भन्दै भ्रष्टाचार अन्त्यका लागि छानबिनमा राजनीतिक नेतृत्वलाई ल्याइनुपर्ने माग गरे । उनले नेपालबाट कोरिया जाने प्रक्रियामा समेत ‘एउटै प्लेनबाट जाने भनेर कुरा मिलाएर खानेहरू’ रहेको खुलासा गरे ।
आफूहरूले संसदमा गरेको विरोध सरकारले नसुनेको भन्दै लिङ्देनले भ्रष्टाचारसँग सम्बन्धित विषयमा छानबिन गर्न सरकार तयार नभए सडकबाट दबाब दिने चेतावनी समेत दिए । आफ्ना कुरा राखेर रास्वपा र राप्रपाका सांसदहरू सभाकक्षबाट बाहिरिएका छन् ।
Facebook Comments