Ad Image

जलवायु न्यायका लागि नेपाललाई अन्तर्राष्ट्रिय साथ चाहिएको छ : उपसभामुख राना

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/11 (1).jpg

चीन । उपसभामुख इन्दिरा रानाले जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित हिमाली मुलुक नेपाललाई जलवायु न्याय सुनिश्चित गर्न तत्काल अन्तर्राष्ट्रिय ऐक्यबद्धताको आवश्यकता रहेको बताएकी छन् ।

चीनको हेनान प्रान्तमा आयोजित साङ्घाई सहयोग मञ्चको ’विकासका लागि शान्तिपूर्ण र स्थिर वातावरणको सुरक्षा विषयक’ सत्रमा सम्बोधन गर्दै उनले यो कुरा बताएकी हुन् ।

रानाले विश्व जलवायु परिवर्तनमा नेपालको खासै योगदान नभए पनि त्यसको प्रत्यक्ष असर सामना गरिरहेको बताउँदै, हिमनदी पग्लने र छिटो मौसम परिवर्तनले ग्रामीण तथा हिमाली क्षेत्रमा प्रतिकूल प्रभाव पारिरहेको जानकारी गराइन् ।

उनले जलवायु परिवर्तन, असमानता र क्षेत्रीय तनावजस्ता चुनौतीहरू कुनै एक देशले मात्र समाधान गर्न नसक्ने भएकाले साङ्घाई सहयोग मञ्चजस्ता क्षेत्रीय साझेदारी प्रभावकारी हुने धारणा राखिन् ।

नेपालले गरिबी निवारण र वातावरण संरक्षणलाई समान महत्व दिँदै प्रतिस्पर्धाभन्दा सहकार्यलाई प्राथमिकता दिएको बताउँदै चीन लगायत छिमेकी मुलुकसँग पूर्वाधार, व्यापार र जनस्तरको सम्बन्ध प्रगाढ बनाउन सहकार्य गरिरहेको उनले उल्लेख गरिन् ।