युक्रेन–रूस आ*क्रमणमा ३ जनाको मृ*त्यु : जेलेन्स्कीको वार्ता प्रस्ताव पुटिनद्वारा अस्वीकार


काठमाडौं । युक्रेनी अधिकारीहरूका अनुसार रूसले रातभर युक्रेनका विभिन्न क्षेत्रमा आक्रमण गरेको छ । ड्निप्रोमा एक आवासीय भवनमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको मेयर बोरिस फिलाटोभले पुष्टि गरेका छन् ।
यता, रूसको रोस्तोभ क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणपछि एक सवारी साधनमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको कार्यवाहक गभर्नर युरी स्लियुसरले जनाएका छन् ।
ड्निप्रो, खार्किभ र जापोरिज्जिया लगायतका शहरहरूमा रूसी हमला भएका छन् । खार्किभमा करिब तीन घण्टा लगातार निर्देशित बम, बलिस्टिक क्षेप्यास्त्र र कामिकाजे ड्रोन प्रयोग गरी आक्रमण भएको मेयर इगोर तेरेखोभले बताए । जापोरिज्जियामा रूसी ड्रोन आक्रमणबाट आवासीय भवन र कृषि गोदाममा क्षति पुगेको छ ।
यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आगामी अगस्ट महिनाको अन्त्यसम्म वार्ताको प्रस्ताव राखेका छन् । तर, क्रेमलिनले यो प्रस्ताव तत्काल सम्भव नरहेको जनाएको छ । दुई देशबीच वार्ताका सर्तहरूमा गहिरो मतभेद छ ।
युक्रेनले रूसमाथि निर्णय क्षमताविहीन प्रतिनिधि पठाएको आरोप लगाउँछ भने, रूसले युक्रेनलाई आफूले कब्जा गरेका चार क्षेत्र छोड्न आग्रह गरेको छ, जसलाई युक्रेनले अस्वीकार्य बताउँदै आएको छ ।
युक्रेनले आफ्ना पश्चिमी सहयोगी राष्ट्रहरूलाई दैनिक रूसी आक्रमणहरूको सामना गर्न थप हतियार र सुरक्षा सामग्री उपलब्ध गराउन आह्वान गरिरहेको छ ।