Ad Image

खानेपानी समस्या भएको क्षेत्रमा बोरिङको तयारी गर्न गृहमन्त्रीको निर्देशन

User Image मेयरसाप डेस्क | १७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/c1575f59-d742-4d4b-9705-e9c590423f8c.jpeg

काठमाडौं । गृहमन्त्री रमेश लेखकले खानेपानी र सिँचाइको समस्या भएका स्थानहरूको पहिचान गर्न प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूलाई निर्देशन दिएका छन् । शनिबार सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा उनले सो निर्देशन दिएका हुन् ।

तराईका विभिन्न जिल्लाहरूमा खानेपानी र सिँचाइको समस्या विकराल बनेको सन्दर्भमा गृहमन्त्री लेखकले प्रजिअहरू र स्थानीय प्रतिनिधिहरूसँग छलफल गरेका थिए । छलफलपछि उनले समस्याग्रस्त स्थानहरूको पहिचान गर्न र पहिचान भएका विवरणहरू सरकारलाई उपलब्ध गराउन आग्रह गरे ।

‘खानेपानी र सिँचाइको समस्या भएको ठाउँको पहिचान गर्नुपर्यो। अहिलेसम्म जति पहिचान भएका छन्, थपलाई पनि पहिचान गरेर राख्नुपर्छ। वैकल्पिक स्रोत र वैकल्पिक स्रोतहरूको पहिचान, वैज्ञानिक वितरणको व्यवस्था मिलाउनुपर्छ। प्रमुख जिल्ला अधिकारीहरूले यसको व्यवस्था मिलाउनु होला,’ लेखकले भने ।

प्रधानमन्त्रीले शुक्रबार मात्रै बोरिङ गर्ने घोषणा गरेकाले, कुन–कुन ठाउँमा बोरिङ गर्ने भन्ने आवश्यकतालाई प्राथमिकतामा राखेर छिटो प्रक्रियाबाट डिप बोरिङ ट्युबेल जडान गर्न पनि गृहमन्त्रीले प्रजिअहरूलाई निर्देशन दिएका छन् ।