Ad Image

‘रोटरी प्लान्टेशन डे २०२५’ सम्पन्न, देशभर ५० हजार बिरुवा वृक्षारोपण

User Image मेयरसाप डेस्क | १६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/p5.jpeg

काठमाडौं । वातावरणीय दिगोपन र सामूहिक एकताको उदाहरण प्रस्तुत गर्दै रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२, नेपाल–भूटानले ‘रोटरी प्लान्टेशन डे २०२५’ सफलतापूर्वक सम्पन्न गरेको छ । यस अभियान अन्तर्गत नेपालभरिका १५० भन्दा बढी रोटरी क्लबहरूले एकै दिनमा ५० हजारभन्दा बढी बिरुवा रोपेर डिस्ट्रिक्ट–व्यापी लक्ष्य पूरा गरेका छन् ।

डिस्ट्रिक्ट गभर्नर विनोद कोइरालाको नेतृत्वमा सञ्चालन गरिएको यो वृहत् वृक्षारोपण अभियानलाई डिस्ट्रिक्टका सबै क्षेत्रमा एकसाथ कार्यान्वयन गरिएको हो । यस अभियानको मुख्य उद्देश्य जलवायु परिवर्तनसँग जुध्ने र हरियाली प्रवद्र्धन गर्ने मात्र नभई, रोटरियनहरू र उनीहरूका सेवा साझेदारबीच सहकार्य र मित्रतालाई थप सुदृढ गर्नु पनि थियो ।

‘यो केवल रूख रोप्ने होइन, आशा रोप्ने र समुदायसँगको सम्बन्ध अझ सुदृढ बनाउने अभियान हो,’ गभर्नर कोइरालाले भने, ‘देशभरबाट देखिएको व्यापक सहभागिता र ‘सेवा माथि स्वार्थ’ भन्ने रोटरीको लक्ष्यप्रतिको साझा प्रतिबद्धता देखेर गर्व लागेको छ ।’ 

उनले जुलाई २६ लाई ‘रोटरी प्लान्टेशन डे’ घोषणा गर्दै अबदेखि यसै दिन देशभर वृक्षारोपण गरी संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

चितवनमा रोपियो १० हजार बिरुवा
यस अभियान अन्तर्गत रोटरी क्लब अफ नारायणी मिड टाउनको अग्रसरतामा चितवन र गैँडाकोटका विभिन्न स्थानहरूमा १० हजार बिरुवाहरू रोपिएका छन् । रोटरी क्लब नारायणी मिड टाउनले चितवन तथा गैँडाकोट क्षेत्रका ५ वटा रोटरी क्लबहरूलाई बिरुवा वितरण गरेको थियो ।

आरसी गैँडाकोटलाई ४ हजार ५ सय, आरसी रत्ननगरलाई एक हजार ५ सय, आरसी भरतपुरलाई ९ सय, आरसी पूर्वी चितवनलाई २ सय र आरसी नारायणगढलाई १ सय ५० बिरुवा वितरण गरिएको गर्भनर काेइरालाले बताए । नारायणी मिड टाउनले आफैँले पनि ३ हजार बिरुवा रोपेर कुल १० हजार बिरुवा वृक्षारोपण कार्यक्रमलाई अगाडि बढाएको उनले जानकारी दिए ।

सन् २०२५\०२५ को ‘युनाइट फोर गुड’ भन्ने थिमको अनुशरण गर्दै जुलाई २६मा दिन चितवन मावि प्राङ्गणबाट यो कार्यक्रमको शुभारम्भ गरिएको थियो । रोटरी इन्टरनेशनलले आफ्नो विश्वव्यापी अनुदान परियोजना र मानवीय प्रयासहरूलाई मार्गदर्शन गर्न पहिचान गरेका सात प्राथमिक क्षेत्रमध्ये वातावरण संरक्षण पनि एक हो ।

कार्यक्रम समापन गर्दै रोटरी क्लब अफ नारायणी मिड टाउनका अध्यक्ष प्रमेश्वर भण्डारीले ‘युनाइट फोर गुड’को अनुशरण गर्दै आजको कार्यक्रमलाई सफल बनाउन योगदान पुर्याउने रोटरी डिस्ट्रिक्ट गभर्नर, डिस्ट्रिक्ट पब्लिक इमेज चेयर र रोटर्याक्ट क्लब अफ नारायणी मिड टाउनलाई विशेष धन्यवाद ज्ञापन गरे ।

ललितपुरमा ६ सय बिरुवा वृक्षारोपण
रोटरी क्लब अफ काठमाडौंले पनि अन्य चार क्लब ‘रोटरी पाटन, बागमती, यला, बालाजुसँगको सहकार्यमा ललितपुरको सानो हात्तीवनमा करिब ६०० बिरुवा जापानी मियावाकी टेक्निक प्रयोग गरी रोपेको अध्यक्ष राजेन्द्र गौतमले जानकारी दिए ।

रोटरी इन्टरनेशनलले सहरी पार्कदेखि दुर्गम पहाडी क्षेत्रसम्म, विद्यालय, सार्वजनिक स्थल र राजमार्ग छेउमा बिरुवा रोपेको छ । यो अभियान रोटरी इन्टरनेशनलको ‘यूनाइट फोर गूड’ थिमअनुसार हरित, दिगो र सहकार्यमा आधारित विश्व निर्माणप्रतिको प्रतिबद्धतालाई उजागर गरेको अध्यक्ष गौतम बताउँछन् ।