ग्रामथान गाउँपालिका: अध्यक्षका ‘बाउन्सर’को आतंक, खुकुरी प्रदर्शनले रोकियो बजेट


मोरङ । मोरङको ग्रामथान गाउँपालिकामा गत असार २७ गते बसेको गाउँसभा बैठकमा जनप्रतिनिधिबीचको विवादले उग्र रूप लिँदा अध्यक्ष नमोनारायण माझीका समर्थकले खुकुरी प्रदर्शन गरेको विषय सार्वजनिक भएको छ ।
असार २७ यता ग्रामथानमा गाउँसभा बैठक पनि बसेको छैन । गाउँपालिकाका जनप्रतिनिधि बीचको आपसी विवादका कारण पालिका बजेटविहीन भएको छ । असार मसान्तसम्म पनि बजेट ल्याउन नसक्दा ग्रामनाथमा आर्थिक वर्ष २०८२\०८३ को बजेट अन्योलमा परेको हो । खुकुरी प्रदर्शनको विषयलाई लिएर विपक्षी जनप्रतिनिधिहरू गाउँसभा बहिष्कार गरिरहेका छन् ।
घटना भएको १२ दिनपछि गत बुधबार (साउन ७ गते) उपाध्यक्ष गुणावती धामी थारुसहित ९ जना जनप्रतिनिधिले प्रहरीमा जाहेरी दिएका थिए । उनीहरूले चार जना माओवादी केन्द्रका कार्यकर्ताविरुद्ध सभा बिथोलेको र खुकुरी प्रदर्शन गरेर डरको माहौल सिर्जना गरेको आरोप लगाउँदै प्रहरीमा अभद्र व्यवहारको जाहेरी दिएका हुन् ।
गाउँसभामा नीति तथा कार्यक्रमबारे विवाद हुँदा अध्यक्षका समर्थकले सेक्युरिटी गार्डको खुकुरी समातेर धम्की दिएको, गालीगलौज गरेको र अशान्त वातावरण बनाएको भन्दै जनप्रतिनिधिहरूले कारबाहीको माग गरेका छन् । तर, प्रहरीले भने राजनीतिक विवाद भन्दै जाहेरी दर्ता गर्न मानेको छैन ।
उपाध्यक्ष थारुका अनुसार, खुकुरी प्रदर्शन गर्नेहरू अध्यक्षले राखेका ‘बाउन्सर’ हुन् । गाउँसभामा अध्यक्षका ती बाउन्सरले जनप्रतिनिधिलाई खुकुरी देखाएर धम्काएको सीसीटीभी फुटेज पनि सुरक्षित रहेको उनले बताइन् ।
यता अध्यक्ष माझीले भने गत असार २७ गतेको १७औँ गाउँसभामा खुकुरी प्रदर्शन गरेको आरोप अस्वीकार गर्दै विपक्षीले सामान्य विवादलाई ठुलो बनाएर पालिकालाई असफल बनाउन खोजेको दाबी गरेका छन् । उनले उपाध्यक्षसहित ९ जना जनप्रतिनिधिलाई सुरक्षा गार्डको खुकुरी खोसेर आफ्ना समर्थकले धम्की दिएको विषय सत्य नभएको प्रष्ट पारे ।
आइतबार (आज) एक विज्ञप्ति जारी गर्दै अध्यक्ष माझीले गाउँपालिका हाताभित्र कुनै पनि अमर्यादित, अवाञ्छित वा अभद्र क्रियाकलाप नभएको उल्लेख गरे । अध्यक्ष माझीले सम्बन्धित सबैलाई तथ्य र प्रमाणका आधारमा मात्र सूचना सम्प्रेषण गर्न आग्रह गरे ।
अध्यक्ष माझीले एकलौटी रूपमा गाउँसभामा बजेट पेस गरेपछि विवाद उत्पन्न भएर बजेट पास हुन नसक्दा गाउँपालिकाको राजस्व संकलन, योजना कार्यान्वयन र अन्य प्रशासनिक कामहरू पूर्ण रूपमा प्रभावित भएका छन् । अध्यक्ष माझी बजेट पास नहुनुमा विपक्षीको असहयोगलाई दोष दिन्छन् भने उपाध्यक्ष थारू अध्यक्षले नै बजेट पास गर्न चासो नदेखाएको बताउँछिन् ।