अन्नपूर्ण आधार शिविरमा वर्षायाममा पनि पर्यटकको चहलपहल


गण्डकी । मनसुनको याम भए पनि अन्नपूर्ण हिमालको आधार शिविरमा दैनिक ५० जनाभन्दा बढी पर्यटक आइरहेका छन्, जसले गर्दा यहाँका पर्यटन व्यवसायी उत्साहित बनेका छन् ।
यस याममा फुल्ने बुकी फूल, हरियाली र खोलानालाले पर्यटकलाई लोभ्याउने गरेको छोमरोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङले बताए । अन्नपूर्ण आधार शिविर पदमार्ग विश्वका उत्कृष्ट पदमार्गमध्ये पर्छ ।
साढे चार दशकअघिसम्म भेडी गोठ र झुपडीमा बस्नुपर्ने बाध्यता रहेकामा अहिले सुविधासम्पन्न होटलहरू निर्माण भएका छन् । सचिव गुरुङका अनुसार, केही वर्षअघिसम्म २६ वटा होटल सञ्चालनमा रहेकामा हाल सिनुवा र त्यसभन्दा माथि ३४ वटा होटल सञ्चालनमा आइसकेका छन्, जसले दैनिक ५०० देखि ६०० जना पर्यटकलाई राख्न सक्छन् ।
पर्यटक आगमनलाई लक्षित गरी व्यवसायीहरूले नियमित रूपमा पदमार्ग सरसफाइ गर्ने गरेका छन् । यस वर्ष मात्रै २९० बोरा सिसा र प्लाष्टिकजन्य फोहोर सङ्कलन गरी पोखरा पठाइएको छ । भदौ पहिलो सातादेखि पर्यटकको चहलपहल बढ्ने अपेक्षा गरिएको छ ।
अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले २०७५ सालदेखि अन्नपूर्ण आरोहण दिवसको अवसरमा अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म अन्तर्राष्ट्रिय अन्नपूर्ण म्याराथन आयोजना गर्दै आएको छ, जसले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान पुर्याएको छ । सन् १९५० जुन ३ मा फ्रान्सेली टोलीले अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेपछि यो क्षेत्र विश्वव्यापी रूपमा चर्चित भएको थियो ।