काठमाडौंमा खानेपानी सुधारको पहिलो चरणका कार्यहरू सम्पन्न


काठमाडौं । काठमाडौं उपत्यका खानेपानी सुधार आयोजनाको पहिलो चरणका कार्यहरू सम्पन्न भएका छन् ।
मेलम्ची खानेपानी आयोजनाको उप–आयोजना–२ अन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)द्वारा सञ्चालित यी आयोजनाको मुख्य उद्देश्य पुराना पाइपलाइन विस्थापन गरी उपत्यकावासीलाई चुहावट रहित स्वच्छ खानेपानी उपलब्ध गराउनु हो ।
पिआइडी प्रमुख लक्ष्मीराज उपाध्यायका अनुसार, आयोजनाअन्तर्गत काठमाडौँका विभिन्न स्थानमा कुल ७४ हजार ५०० घनमिटर पानी भण्डारण क्षमताका दश नयाँ पोखरी निर्माण गरिएका छन् ।
यस चरणमा सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रदेखि पोखरीसम्म थोक वितरण प्रणाली, उपभोक्ताका धारामा पानी पुर्याउन खानेपानी वितरण प्रणाली र दुईवटा फोहोरपानी प्रशोधन केन्द्रको निर्माण कार्य सम्पन्न भएको छ ।
प्रतिदिन २२ करोड लिटर क्षमताका करिब ७७ किलोमिटर नयाँ ‘थोक वितरण प्रणाली’ र कुल १ हजार १० किलोमिटर ‘खानेपानी वितरण प्रणाली’ निर्माण गरिएको प्रवक्ता ई. विकेश बधानथाछेले जानकारी दिए । नयाँ पाइपलाइनबाट खानेपानी वितरण भइरहेको र चुहावटको समस्या खासै नदेखिएको बताइएको छ ।
नेपाल सरकारको आफ्नै स्रोतबाट थप ८०० किलोमिटर खानेपानी वितरण प्रणाली पनि निर्माण गरिएको छ । स्काडा प्रणालीमार्फत सबै पोखरीको व्यवस्थापन, वितरण प्रणाली सञ्चालन र पानीको गुणस्तर मापन गर्ने व्यवस्था गरिएको छ ।
काठमाडौंको गुहेश्वरीमा प्रतिदिन ३ करोड २४ लाख लिटर क्षमताको फोहोरपानी प्रशोधन केन्द्र निर्माण गरी सञ्चालनमा ल्याइएको छ, जसले बागमती नदीमा स्वच्छ पानी प्रवाह गर्न मद्दत पुर्याएको छ ।