स्वास्थ्य सेवामा अब्बल बन्दै बाजुराको हिमाली गाउँपालिका
पालिकाभर १४ वटा स्वास्थ्य चौकी स्थापना
गोविन्द तिमिल्सेना
|
२०८२ मंसिर १२ गते २३:०७
बाजुरा । बाजुराको दुर्गम हिमाली गाउँपालिका पछिल्लो समय स्वास्थ्य सेवा प्रवाहमा अब्बल बन्दै गएको छ। पहिले सामान्य उपचार समेत नपाउँने यहाँका स्थानीयले अहिले घरदैलोमा उपचार सेवा पाएका छन्।
२०७५ देखि पालिकाले स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा भौतिक पुर्वाधार विकासको लागि रकम विनियोजन गर्दै आएपछि अहिले पालिकाभर स्वास्थ्य सेवा लगायत सुविधा सहज बनेको छ।
पछिल्लो समय पालिकाले यहाँका सबै वडाका स्थानीयलाई गाउँमै स्वास्थ्य सेवा दिने गरी स्वास्थ्यको क्षेत्रमा राम्रो लगानी गर्दै आएको छ । जसले गर्दा अहिले यहाँ स्वास्थ्य सेवा प्रवाहमा निकै सहजता छाएको छ।
यहाँका दुर्गम गाउँबस्तीमा सुविधा सम्पन्न स्वास्थ्यचौकी निर्माण हुँदा यहाँका स्थानीयलाई स्वास्थ्य सेवा लिन निकै सहज हुदैँ आएको हो। कुनै बेला सिटामोलको अभाव हुने यहाँ अहिले घर(घरमै सेवा सुविधा पुगेको छ ।
स्थानीय महिलाहरुले घरमै भिडियो एक्सरेलगायतका सेवा सहज रुपमा पाउने गरेका छन्। स्वास्थ्य सेवाको पहुँच पनि उल्लेखनीय रूपमा सुधार भएको छ । गाउँपालिकाभर १४ वटा स्वास्थ्य चौकी स्थापना भएका छन् ।
गाउँपालिकाकी उपाध्यक्ष राजकला सार्की अहिले गाउँपालिकमा स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन आएको बताउँछिन ।
सबै स्वास्थ संस्थामा फोरजी ईन्टरनेट सेवा समेत जडान गरिएको छ । पहिला सामान्य बिरामी हुँदा उपचार गर्नका लागि कोल्टी जानु पर्थ्यो तर अहिले गाउँमै सेवा सुविधा पाउँदा निकै खुसी लागेको हिमाली गाउँपालिका(६ का स्थानीय जयकृष्ण पाण्डेले बताए ।
उनका अनुसार अहिले सबै गाउँमा स्वास्थ्य संस्था स्थापना हुँदा बढिजसो महिलाहरुलाई सहज भएको छ । पहिले यहाँका गर्भवती महिलाहरुलाई सुत्केरी गराउन असहज हुन्थ्यो । दुइ(चार घण्टाको पैदल हिँडेर कोल्टीमा जान पर्थ्यो । तर अहिले गाउँमै सहज रुपमा सेवा सुविधा उपलब्ध छन् ।
अहिले गाउँपालिकाको केन्द्र धुलाचौरमा सुविधा सम्पन्न नयाँ स्वास्थ्य चौकी भवन निर्माण भएको छ । जसले गर्दा सबै खाले बिरामीहरुलाई राम्रोसँग सेवा दिन सहज भइरहेको धुलाचौर स्वास्थ्यचौकीका प्रमुख लक्ष्मणबहादुर विष्टले बताए ।
अहिले भवन निर्माण भएपछि निकै सहज भएको र जुनसुकै खालका बिरामीहरुलाई समेत स्वास्थ्य सेवा प्रदान गर्न सकिने अवस्था रहेको उनले बताए ।
Facebook Comments