संघीय लोकतान्त्रिक मोर्चाको बैठक: आगामी कार्यक्रम र किसानका मुद्दामा निर्णय


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा आज संघीय लोकतान्त्रिक मोर्चाको केन्द्रीय मूल समितिको बैठक बसेको छ ।
बैठकले विभिन्न जिल्लामा गरिने कार्यक्रमको समन्वय र किसानका समस्याबारे महत्त्वपूर्ण निर्णयहरू पनि गरेको छ ।
अधिकार र पहिचान पक्षधर पार्टीहरूसँग सहकार्य गर्ने नीतिअनुसार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र नेपाल जनमुक्ति पार्टीसँग पहिलो चरणमा संवाद गर्ने निर्णय गरिएको छ ।
वर्षा नभएर धान खेती प्रभावित भएका तराई–मधेसका किसानहरूलाई कृषि ऋणमा छुट, तत्काल खानेपानीको व्यवस्था, सिँचाइका लागि डिपवेल बोरिङ, र आगामी फसलका लागि कृषि ऋण, मलखाद, सिँचाइ, बीउबिजन, कीटनाशक औषधि तथा विशेष सहुलियत अनुदान उपलब्ध गराउन माग गरिएको छ ।
यसका साथै, बैठकले दीर्घकालीन रूपमा चुरे वन संरक्षण, जलाशय निर्माण र वातावरणीय सङ्कटबाट तराई–मधेसका जनतालाई जोगाउन ठोस उपायहरू गर्नुपर्नेमा जोड दिइएको छ ।
बैठकमा जसपा नेपाल, नागरिक उन्मुक्ति, राष्ट्रिय मुक्ति पार्टी, लोसपा, जनता प्रगतिशील, र तमलोपाका नेताहरूको उपस्थिति थियो ।