जसपा नेपालद्वारा केन्द्रीय आईटी सेल गठन, महेश चौरसिया प्रमुखमा चयन
मेयरसाप डेस्क
|
२०८२ साउन १२ गते १९:५९
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय आईटी सेल गठन गरेको छ, जसको प्रमुखमा महेश चौरसिया चयन भएका छन् । चौरसियालाई पार्टीको सूचना, सञ्चार, विज्ञान तथा प्रविधि विभागको सचिवमा पनि मनोनित गरिएको छ ।
सोमबार पार्टी कार्यालय बालकुमारीमा बसेको बैठकले पार्टीको केन्द्रीय आईटी सेल गठन गर्ने चौरसियालाई त्यसको प्रमुख चयन गर्ने र सूचना तथा सञ्चार विभागलाई १८ सदस्यीय बनाउने निर्णय गरेको हो ।
विभाग प्रमुख जितेन्द्र यादवका अनुसार, आधुनिक सञ्चार र प्रविधिको बढ्दो प्रयोगलाई ध्यानमा राख्दै पार्टीको विचार र मुद्दालाई सामाजिक सञ्जालमार्फत प्रभावकारी ढंगले जनतामाझ पुर्याउने तथा पार्टी गतिविधि र संरचनालाई आधुनिक आईटी मैत्री बनाउने उद्देश्यले महेश चौरसियाको नेतृत्वमा ३३ सदस्यीय केन्द्रीय आईटी सेल गठन गरिएको हो ।
सामाजिक सञ्जालमा सक्रिय, प्राविधिक ज्ञान भएका, प्रचारप्रसार सामग्री तयार गर्न सक्ने र फोटो–भिडियो सम्पादनमा जानकार संगठित सदस्यहरूलाई समेटेर दक्ष आईटी टीम निर्माण गरिएको यादवले बताए ।
विभागको सदस्यमा प्रदीप घतान, मुसाहिद हुसेन, रसना यादव, ईमान राई, मनोज कुमार यादव, अमरेन्द्र यादव, रेणुराज सिंह, अजय वर्मा, अभरेन्द्र यादव, विनित यादव, गौतम यादव, ओम यादव (मनिष), प्रभात कुमार सिंह (पिन्टु), श्याम यादव, दिपु कापर र कमलेश यादव मनोनित भएका छन् ।
Facebook Comments