Ad Image

सङ्खुवासभासहित पूर्वी पहाडी जिल्लामा लाखेजात्रा सुरु

User Image मेयरसाप डेस्क | १२ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/lakhe jatra.jpg

सङ्खुवासभा । नागपञ्चमीका दिनदेखि नेवार समुदायको बाहुल्यता रहेको पूर्वका ओखलढुङ्गा, खोटाङ, सङ्खुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम, ताप्लेजुङलगायतका जिल्लामा आजदेखि लाखेनाच सुरु भएको छ ।
 
सङ्खुवासभाको खाँदबारी नगरापलिका–१ मा रहेको भीमसेन मन्दिरमा पूजाआजा गरी विधिवत् रूपमा लाखेजात्रा सुरु गरिएको छ । नेवार संस्कृति र परम्पराअनुसार भीमसेन मन्दिरमा पूजाआजा र सगुन खुवाएर नागपञ्चमीबाट लाखे निकालिन्छ ।
 
नेवाःदेयदवू नगर कार्य समिति खाँदबारीको संयोजनमा नागपञ्चमीका दिनदेखि सुरु भएको लाखेनाच कृष्ण जन्माष्टमीसम्म हरेक दिन बजार परिक्रमा गराउँदै प्रदर्शन गरिन्छ । नेवार समुदायको कुलदेवता भीमसेनको पूजासँगै ढोल, ढोलकी, भ्याम्टा, मुकुन्डो, लाखेले लगाउने कपडालगायत सामग्रीहरूको पूजा गरी खाँदबारीलगायतका बजारहरूमा लाखेनाच सुरु गरिएको नेवाःदेयदवू नगरकार्य समिति खाँदबारीका अध्यक्ष पुष्पबहादुर श्रेष्ठले बताए ।
 
उपत्यका तीन सहर काठमाडौँ, भक्तपुर र ललितपुर मुख्य थलो बनाएका नेवारी समुदायहरु मुलुकका विभिन्न स्थानहरुमा बसोबास गर्दै आएका छन् । पूर्वमा हेर्दा धनकुटाबजार, भोजपुरको टक्सार बजार र सङ्खुवासभाको चैनपुर, खाँदबारी, वाना, सिभुवाका बजारहरुमा नेवार समुदायको बसोबास छ । लाखेनाचका क्रममा स्थानीय लोकभाका, वेशभूषा र चालचलन एवं रोपाइँजात्रा, घोडेजात्रा, गाईजात्रा र अन्य जात्रा देखाउँदै समाजका विभिन्न विकृतिमाथि व्यङ्ग्य गर्ने अनि सर्वसाधारणलाई मनोरञ्जन दिने गरिन्छ ।
 
भीससेन मन्दिरबाट विधिवत् रूपमा सुरु भएको लाखेले खाँदबारी बजार परिक्रम गरेको छ । द्वापर युगमा भगवान् श्रीकृष्ण र उनका मामा कंशबीचको लडाइँको झल्को दिनेगरी विभिन्न गतिविधि गर्दै जिल्लामा नेवार समुदाय भएका बजार क्षेत्रमा लाखेनाच निकाल्ने चलन छ ।