Ad Image

प्रधानमन्त्रीबाट रानी जमरा कुलरिया थप सिँचाइ र जलविद्युत्को उद्घाटन

User Image मेयरसाप डेस्क | १८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/kp oli udghatan.jpg

कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीले रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत थप सिँचाइ, जलविद्युत् र प्रसारण लाइनको आज उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री ओलीले १४ हजार ३०० हेक्टर सुविधाको सिँचाइ आयोजना र चार दशमलव ७१ मेगावाट जलविद्युत् तथा प्रसारण लाइनको उद्घाटन गरेका हुन्।

कैलालीको जानकी गाउँपालिका–९ कटासेस्थित सिँचाइ नहरबाट उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनमा जोडिएको छ । राष्ट्रिय गौरवको आयोजना रहेको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको दोस्रो चरणका कार्यक्रम सम्पन्न भई अब तेस्रो चरणका कार्यक्रम सुरु भएको हो ।  

आयोजनाले टीकापुर, लम्कीचुहा र जानकी गाउँपालिकामा सेवा दिँदै आएकामा अब तेस्रो चरणअन्तर्गतको आयोजनाबाट भजनी, जोशीपुर, बर्दगोरिया, घोडाघोडीलगायतका पालिकामा सिँचाइ विस्तार र कृषि उत्पादन वृद्धि हुनेछ । 

प्रधानमन्त्री ओलीले आयोजनालाई नेपालको जलस्रोत तथा ग्रामीण कृषि क्षेत्रको विकासमा ऐतिहासिक उपलब्धि भन्दै यसले नेपालको ग्रामीण जीवनशैली, कृषि उत्पादन, ऊर्जा आत्मनिर्भरता र खाद्य सुरक्षाको चित्रण गर्ने बताए ।

प्रधानमन्त्री ओलीले १२० वर्षअघिको स्थानीय किसानको सामूहिक प्रयास र परम्परागत सीपबाट सुरु भएको रानी जमरा कुलरिया प्रणालीलाई आधुनिक स्वरूपमा विस्तार गरिएको उल्लेख गर्दै स्थानीय सहभागिता र सरकारको समन्वयबाट आजको सफलताको जग खडा भएको बताए ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका सिँचाइ आयोजना—सिक्टा, बबई, महाकाली तेस्रो, भेरी–बबई र सुनकोशी–मरिन बहुद्देश्यीय आयोजनाहरू शीघ्र सम्पन्न गर्न सम्बद्ध निकायलाई निर्देशन दिए ।