Ad Image

देश विकासका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

User Image मेयरसाप डेस्क | १६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/1000094135.jpg

सुदूरपश्चिम । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कैलालीको पूर्वी क्षेत्रमा निर्माणाधीन राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजनाको दोस्रो चरणमा निर्माण पूरा भएको सिँचाइ प्रणाली र विद्युत्गृहको उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले वर्तमान सरकार देश विकासका लागि प्रतिबद्ध रहेको र स्थिरता तथा स्थायित्व कायम गर्न काम गरिरहेको बताए ।

रानीजमरा कुलरिया सिँचाइ आयोजनाको तेस्रो चरणको काम पनि पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले यो आयोजनाले नेपालको जलस्रोत तथा ग्रामीण कृषि क्षेत्रको विकासमा ऐतिहासिक उपलब्धि भएको बताए ।

ओलीले १२० वर्ष पुरानो परम्परागत सिँचाइ प्रणालीलाई आधुनिक स्वरूपमा विस्तार गरिएको र यो सफलता स्थानीय जनसहभागिता तथा सरकारको समन्वयबाट प्राप्त भएको उल्लेख गरे । 

उनले यस आयोजनाले ग्रामीण जीवनशैली परिवर्तन, कृषि उत्पादन वृद्धि, ऊर्जामा आत्मनिर्भरता र खाद्य सुरक्षामा टेवा पुर्याउने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्रीले सोमबारको मन्त्रिपरिषद् बैठकले सिँचाइ आयोजनाको तेस्रो चरणका लागि विश्व बैंकसँग ऋण लिने निर्णय गरेको जानकारी दिए ।

साथै, मधेसमा देखिएको सुख्खाग्रस्त समस्या र खानेपानीको अभाव समाधान गर्न ५०० वटा डिप बोरिङ जडान गर्ने र चुरे संरक्षणका लागि मत्स्यपालन तथा पोखरी निर्माण गरी पानी रिचार्ज गर्नेतर्फ सरकारको ध्यान गएको बताए ।

उनले सुनकोशी मरिन डाइभर्सन, भेरी बबई सिँचाइ आयोजना, तम्मोर डाइभर्सनलगायत महत्त्वपूर्ण आयोजनाको निर्माण पूरा गर्न पनि सरकारले ध्यान दिएको जानकारी दिए ।