Ad Image

भूमिसम्बन्धी ऐन वास्तविक सुकुम्बासीको पक्षमा हुनुपर्ने सांसदहरूको जोड

User Image मेयरसाप डेस्क | १४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/KRB-KTM-13_U3A6288copy.jpg

काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुँदा सांसदहरूले यो ऐन वास्तविक सुकुम्बासीको पक्षमा हुनुपर्नेमा जोड दिएका छन् । उनीहरूले सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासलाई उस्तै समस्याका रूपमा लिन नहुने बताए ।

सांसद प्रतिमा गौतमले वन क्षेत्रभित्रको खाली जग्गा वन क्षेत्रमै राख्नुपर्ने र हदबन्दी छुट जुन प्रयोजनका लागि लिइएको हो, सोही अनुसार प्रयोग हुनुपर्ने बताइन् । उनले सुकुम्बासीको नाममा राजनीति गर्ने गरी विधेयक ल्याउनुहुँदैन भन्दै भूमि र वनको विषयमा प्रदेश र स्थानीय तहसँग समन्वय हुनुपर्नेमा जोड दिइन् ।

सांसद विनिता कठायतले भूमिसम्बन्धी विधेयक सामान्य जनताका लागि हो वा पहुँचवालाका लागि हो भन्ने स्पष्ट हुनुपर्ने धारणा राख्दै, वास्तविक सुकुम्बासी र भूमिहीन दलितको स्पष्ट तथ्यांक हुनुपर्नेमा जोड दिइन् ।

सांसद सोविता गौतमले भूमिसम्बन्धी ऐन १६ पटक संशोधन भइसकेको उल्लेख गर्दै, यो विधेयक नीतिगत भ्रष्टाचारको निरन्तरता भएको बताइन् ।

उनले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई राज्यले संरक्षण गर्नुपर्ने र सरकारले भूमि दिनुपर्ने भए पनि स्पष्ट लक्ष्य र आवश्यकताअनुसार कानुन बनाउनुपर्ने धारणा व्यक्त गरिन् ।