बागमती प्रदेश कांग्रेस संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित


हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन् । बुधबार हेटौँडामा भएको निर्वाचनमा खसेको कुल ३७ मतमध्ये बानियाँले २२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी हालका मुख्यमन्त्री बहादुर सिंह लामाले १४ मत प्राप्त गरे भने एक मत बदर भयो ।
बागमती प्रदेश सभामा कांग्रेसका ३७ सांसद छन् । संसदीय दलको बहुमत २२ मतसहित बानियाँ दलको नेता चुनिएका छन् । बानियाँकै अगुवाइमा तत्कालीन संसदीय दलका नेता लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो, जुन २२ मतले नै पारित भएको थियो ।
बानियाँ र लामाबीच यो कार्यकालमा दोस्रो पटक प्रतिस्पर्धा भएको हो । २०७९ मा भएको निर्वाचनमा बानियाँलाई पराजित गर्दै लामा संसदीय दलको नेतामा निर्वाचित भएका थिए । नवनिर्वाचित संसदीय दलका नेता बानियाँ कांग्रेसको बागमती प्रदेश सभापति पनि हुन् ।