Ad Image

अस्ट्रेलियाको पहिलो स्वदेशी रकेट ‘एरिस’ परीक्षण उडानमै दुर्घटना

User Image मेयरसाप डेस्क | २२ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/ggg.jpg

काठमाडौं । अस्ट्रेलियामा निर्मित पहिलो रकेट ‘एरिस’ बुधबार परीक्षण उडानका क्रममा १४ सेकेन्डमै दुर्घटनाग्रस्त भएको छ । गिलमोर स्पेस टेक्नोलोजीद्वारा क्विन्सल्यान्ड राज्यको बोवेन नजिकको स्पेसपोर्टबाट प्रक्षेपण गरिएको यो रकेट साना उपग्रहहरूलाई कक्षमा लैजानका लागि डिजाइन गरिएको थियो ।

अस्ट्रेलियाली समाचार आउटलेटहरूले सार्वजनिक गरेका भिडियोमा २३ मिटर अग्लो रकेट प्रक्षेपण टावरलाई खाली गरेर हावामा उडेको र केही बेरमै दृष्टिबाट बाहिर खसेको देखिन्छ, जसपछि घटनास्थलमा धुवाँको लहर उठेको थियो। यद्यपि, कुनै मानवीय हताहतको खबर आएको छैन ।

कम्पनीले यस प्रक्षेपणलाई सफलताको रूपमा लिएको छ । प्रवक्ताका अनुसार, रकेटका चारवटै इन्जिन प्रज्वलित भए र २३ सेकेन्ड इन्जिन जलेको तथा १४ सेकेन्डको उडान समावेश थियो ।

गिलमोर स्पेस टेक्नोलोजीजका सीईओ एडम गिलमोरले रकेट लन्चप्याडबाट निस्किएकोमा खुसी व्यक्त गर्दै, जमिन छोडेमा प्रक्षेपणलाई सफल मान्ने कम्पनीको पहिलेदेखिको नीति रहेको बताए । उनले लन्चप्याडको पूर्वाधार अक्षुण्ण रहेको पनि जानकारी दिए ।

स्थानीय ह्विटसन्डे क्षेत्रीय काउन्सिलका मेयर राई कोलिन्सले यान कक्षमा नपुगे पनि यो प्रक्षेपण ठूलो उपलब्धि भएको र भविष्यको व्यावसायिक अन्तरिक्ष उद्योगका लागि महत्त्वपूर्ण पहिलो कदम भएको बताए ।

गिलमोर स्पेस टेक्नोलोजीजसँग निजी कोषका साथै अस्ट्रेलियाको सङ्घीय सरकारबाट ५० लाख अस्ट्रेलियन डलर (३२ लाख अमेरिकी डलर) अनुदान प्राप्त भएको थियो ।

एरोस्पेस समाचार प्लेटफर्म नासास्पेसफ्लाइटका अनुसार, यो ५० वर्षभन्दा बढी समयमा अस्ट्रेलियाबाट भएको पहिलो कक्षीय प्रक्षेपण प्रयास थियो ।