Ad Image

भगवती–बेगखोला सडक स्तरोन्नति सुरु

User Image मेयरसाप डेस्क | २२ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Bhagawati Jaise khor road.jpg

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको भगवती–बेगखोला सडकको स्तरोन्नति आजदेखि सुरु भएको छ । गण्डकी प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत सञ्चालित यो सडक निर्माणको काम हिमालयन कन्स्ट्रक्सनले सुरु गरेको हो ।

प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीको सिफारिसमा गलेश्वर–पिप्ले–भगवती हुँदै बेग र भगवती–सिजलगाउँ–साझपानी–बयारीगाउँ–बेग सडक स्तरोन्नतिका लागि प्रदेश सरकारले रु ५ करोड बजेटको स्रोत सुनिश्चितता गरेको थियो । गत असार ९ गते पूर्वाधार विकास कार्यालय र निर्माण कम्पनीबीच रु २ करोड ८२ लाखमा १८ महिनाको ठेक्का सम्झौता भएको थियो ।

कम्पनीका सञ्चालक निरज भण्डारीले निर्धारित समय अगावै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलका अनुसार, भगवतीको जैसीखोरदेखि सिजलगाउँ हुँदै बेगतर्फ १.४ किलोमिटर सडक ढलान र ‘प्रिमिक्स’ कालोपत्रे गरिनेछ ।

१५ वर्षअघि खुलेको यो सडकलाई कम्तीमा ७ मिटर फराकिलो बनाइनेछ भने पर्खाल र नाली निर्माण पनि गरिनेछ । यो सडकबाट रघुगङ्गा गाउँपालिका–१ बेग र २ नम्बर वडा भगवतीका बासिन्दा लाभान्वित हुने गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।