भूमि विधेयक फिर्ता नलिए मधेसमा जनविद्रोह गर्ने यादवको चेतावनी


राजविराज । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमि सम्बन्धी विधेयक फिर्ता नलिए जनविद्रोह गर्ने चेतावनी दिएका छन् ।
बुधबार सप्तरीको राजविराजमा जसपा नेपालको एकताको प्रथम जिल्ला अधिवेशन उद्घाटन गर्दै यादवले वर्तमान सरकारले मधेस विरोधी भूमि विधेयक जबर्जस्ती लाद्न खोजे मधेसी जनता आफ्नो अस्तित्व र पहिचानको रक्षाका लागि जनविद्रोह गर्न बाध्य हुने बताए ।
यादवले सरकारले वन विनाश, चुरे उत्खनन् तथा पहाडका बासिन्दालाई मधेसमा अवैध बसोबास गराएर मधेसलाई मरूभूमिकरणतर्फ धकेल्ने षड्यन्त्र गरिरहेको आरोप लगाए ।
उनले पानीको हाहाकार र अन्नदाता नै संकटमा परेको भन्दै बजेट संशोधन गरी समस्या समाधान गर्न आग्रह गरे । चुरेको संरक्षण नभए मधेसको भूमि मरुभूमि हुने उनको भनाइ थियो ।
यादवले जनसंख्याको आधारमा बजेट विनियोजन गर्न माग गर्दै ६० प्रतिशत मधेसी जनतालाई ११ प्रतिशत मात्र बजेट विनियोजन हुनु ठूलो विभेद भएको बताए ।
उनले जबर्जस्ती लादिएको संविधानले देशको हित नहुने र गलत संविधानकै कारण संघीय लोकतान्त्रिक गणतन्त्र पनि बदनाम भएको दाबी गरे ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका यादवले संविधान संशोधन वा पुनर्लेखन गरी जनताद्वारा प्रत्यक्ष निर्वाचित राष्ट्रपति, निर्वाचन प्रणाली, जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व लगायतका विषय राख्नुपर्नेमा जोड दिए ।
जिल्ला अध्यक्ष केदार यादवको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा विभिन्न पार्टीका नेताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने मधेस आन्दोलनका शहीद परिवारलाई सम्मान गरिएको थियो ।
जिल्ला अधिवेशन तीन दिनसम्म चल्नेछ, जहाँ अध्यक्ष पदका लागि हालका अध्यक्ष केदार यादव, उपाध्यक्ष उमेश प्रसाद यादव र हरेराम यादव चर्चामा छन् ।