Ad Image

लिचीबारी काण्डपछि नाउपाको अध्यक्षबाट रञ्जिता श्रेष्ठ बर्खास्त

User Image मेयरसाप डेस्क | २१ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Ranjeeta-shrestha maam.jpg

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई पदबाट हटाएको छ । बुधबार बसेको राष्ट्रिय भेलाको बैठकले श्रेष्ठलाई पदबाट हटाउने प्रस्ताव सर्वसम्मत पारित गरेको नाउपा अनुशासन आयोगका अध्यक्ष रामलाल डगौरा थारूले जानकारी दिए ।

श्रेष्ठलाई लिची बगैँचा जग्गा प्रकरणमा मुछिएको र सोहीबारे सोधिएको २४ घन्टे स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको तथा विधानविपरीत कार्य गरेको आरोप छ ।

श्रेष्ठले वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेपछि पार्टीमा असन्तुष्टि चुलिएको थियो, जसलाई संरक्षक रेशम चौधरीले विधानविपरीत भनेका छन् ।

अनुशासन आयोगका अध्यक्ष डगौराका अनुसार, अब आज (बिहीबार) बस्ने बैठकले नयाँ अध्यक्ष तोक्नेछ । अध्यक्षका लागि रेशम चौधरीका बुवा लालवीर चौधरीको नाम पनि चर्चामा रहे पनि संस्थापक सदस्यबाटै अध्यक्ष तोक्नुपर्ने कानुनी जटिलता रहेको उनले बताए ।

२०७८ पुसमा रेशम चौधरीले जेलभित्रै रञ्जिता श्रेष्ठलाई अध्यक्ष बनाएर नाउपा दर्ता गर्दा २१ जना केन्द्रीय सदस्य थिए । बुधबारको भेलाले २०१ सदस्यीय नयाँ कार्यसमिति अद्यावधिकका लागि निर्वाचन आयोगमा पठाउने निर्णय पनि गरेको छ ।