मुख्यमन्त्री शाहले पाए विश्वासको मत, नाउपाको पनि समर्थन


काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बिहीबार प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । दोस्रो पटक मुख्यमन्त्री भएको ११ महिनापछि उनले विश्वासको मत लिएका हुन् ।
गत असार २० गते नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले पुनः विश्वासको मत लिनुपरेको थियो । ५३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि २७ मत आवश्यक पर्छ । मुख्यमन्त्री शाहले सदनबाट ३० जना सांसदको मत पाएका छन् ।
उनलाई नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११ जना र नाउपाका सांसद कैलाश चौधरीले विश्वासको मत दिए । बैठकमा उपस्थित ४५ सांसदमध्ये नेकपा माओवादी केन्द्रका १०, नेकपा एकीकृत समाजवादीका ३, राप्रपाका १ र १ जना स्वतन्त्र सांसद गरी १५ जनाले विपक्षमा मतदान गरे ।