फेरिए टोलका नाम: ‘ढोलीबाडा’ फूलबारी बस्ती, ‘लोहारबाडा’ बेतालदेउ बस्ती


काठमाडौं । डोटीको दिपायल सिलगढी नगरपालिका–५ मा जातीय आधारमा राखिएका टोलका नामहरू परिवर्तन गर्ने अभियान सुरु भएको छ । पुस्तौँदेखि जातीय पहिचानमा आधारित नामले अपमान महसुस गराएको भन्दै यो पहलकदमी लिइएको हो ।
अभियानअन्तर्गत ‘भुलबाडा’लाई ‘चेतना बस्ती’, ‘आउजी\ढोली बाडा’लाई ‘फूलबारी बस्ती’ र ‘लोहारबाडा’लाई ‘बेतालदेउ बस्ती’मा परिवर्तन गरिएको छ । स्थानीय महिला समूह, वडा कार्यालय र अन्य सरोकारवालाको सहकार्यमा यो ऐतिहासिक कदम चालिएको दलित महिला सङ्घ (फेडो)ले जनाएको छ ।
स्थानीय अम्बिका आउजीका अनुसार, नाम परिवर्तनले आत्मसम्मान र सामाजिक पहिचानको पुनस्र्थापना गरेको छ । वडाध्यक्ष गणेशबहादुर भण्डारीले यो अभियानले सामाजिक सद्भाव र एकता सुदृढ गर्न सहयोग पुगेको बताए । उनले नाम परिवर्तन मात्र नभई मन र व्यवहारमा पनि परिवर्तन ल्याउन आवश्यक रहेकोमा जोड दिए ।
फेडोका अनुसार, यो अभियान डोटीमा मात्र सीमित नरही देशभर विस्तार गरिनेछ । यसअघि सरकारले नागरिकतामा अपमानजनक नाम राखिएका दलित समुदायका व्यक्तिहरूको नाम सच्याउन पनि पहल गरेको थियो । यो पहलले सामाजिक रूपान्तरणको दिशामा महत्त्वपूर्ण सन्देश दिएको छ ।