Ad Image

दुनाटपरी बनाएर आत्मनिर्भर बन्दै महिला समूह

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/dunatapari.jpg

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–७ देवरीयाका पाँच जनाको महिला समूहले दुनाटपरी बनाएर आत्मनिर्भर बनेका छन् । 

स्थानीय सीता चौधरी, कमला चौधरी, भुलिया चौधरी, विनिता रेग्मी र सविता चौधरीले दुई वर्षदेखि देवरियामा ‘जाखौरबाबा महिला विकास दुनाटपरी उद्योग’ सञ्चालन गर्दै आएका छन् । उनीहरुले सुरुमा वडा कार्यालयबाट दुनाटपरी बनाउने तालिम लिएका थिए ।

 वडा कार्यालय र धनगढी उपमहानगरपालिकाले सो समूहलाई दुनाटपरी बनाउने दुई वटा मेसिन निःशुल्क उपलब्ध गराएको छ । मेसिनको प्रयोगले दुनाटपरी उत्पादन गर्न अझै सहज भएको छ । दुनाटपरी उद्योग सञ्चालकमध्येकी सीता चौधरीले वडाबाट प्राप्त दुनाटपरी बनाउने तालिमबाट आफूहरु आत्मनिर्भर बनेको बताइन् । उनले भनिन्, “यसभन्दा पहिले हामी घरको काममा मात्र सीमित थियौँ । जब दुनाटपरी बनाउने तालिम लियौँ, त्यसपछि कमाइ राम्रै छ ।”

दिनमा एक हजार दुना र ३०० जति टपरी उत्पादन गर्दै आएको उहाँले बताउनुभयो । जसबाट मासिक रु ३० हजार जतिको कारोबार हुने गरेको छ । दुना सानो साइजको रु ७० पैसा, एक नम्बरको रु ८०, दुई नम्बरको रु एक, तीन नम्बरको डेढ रुपैयाँ र टपरी रु साढे तीनमा बिक्री गर्ने गरेको उनले बताइन् ।

दुनाटपरी बिक्री गरी प्राप्त पैसा समूहमा जम्मा गर्ने गरेको अर्की सञ्चालक कमला चौधरीले बताइन् । यसरी समूहमा जम्मा गरेको पैसाले आपतविपद्, गाह्रो, अप्ठ्यारो तथा घरायसी समस्या आइपरेको खण्डमा ठूलो समस्या टर्ने गरेको उनको भनाइ छ ।

दुनाटपरी कारोबारबाट दुई वर्षयता समूहमा बचत गरेको रु ६० हजारका दरले एक जनाको भाग परेको उनले बताइन् । “सुरुमा कामको खोजीमा थियौँ, के गर्ने, कसो गर्ने भन्ने अन्यौलमा थियौँ”, उनले भनिन्, “जब वडाबाट तालिम लियौँ आफ्नो हातमा सीप भइसकेपछि हिजोआज ढुक्कले घर खर्च चलिरहेको छ ।”

सुरुसुरुमा दुनाटपरी बिक्रीका लागी समस्या हुने गरेता पनि हिजोआज समस्या नभएको समूहकी सविता चौधरीले बताइन् ।