देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्नुपर्छ: महासचिव पोखरेल


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्न सक्नुपर्ने बताएका छन् । रिटर्नी फेडेरेशन नेपालले स्वदेशी लगानीकर्ताको सामूहिक लगानीमा स्थापना गरिएको ‘नवयुग इन्भेष्टमेन्ट कम्पनी लिमिटेड’ को शुभारम्भ गर्दै देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्नुपर्ने बताएका हुन् ।
‘म बनाउँछु मेरो देश’ भन्ने भावनाका साथ लाग्ने हो भने नेपाललाई समृद्ध मुलुक बनाउन सकिने उनको भनाइ छ । महासचिव पोखरेलले परम्परागत निर्वाहमुखी काम गरेर देश समृद्ध नहुने र परम्परागत ढाँचाले मात्रअघि बढ्दा फेरि अभावकै दुष्चक्रमा फस्नुपर्ने बताए।
“अर्थतन्त्रमा निर्वाहमुखी, पारिवारिक उत्पादनमुखी, गुजारामुखी ढाँचाको रहेको छ । औद्योगिक क्षेत्र पनि कर्पोरेट कल्चरमा ढालिएकै छैन । कम्पनी पारिवारिक कम्पनीकै ढाँचामा छन्”, उनले भने, “कम्पनी साँच्चै पब्लिक बन्न सकेका छैनन् ।”
महासचिव पोखरेलले नेपाल चर्चा गरिएको जस्तो गरिब मुलुक नभएको उल्लेख गर्दै नेपालको सामथ्र्य के छ भन्ने कुरा नेपालीले बुझ्न नसकेका बताए । महासचिव पोखरेलले नेपाल भित्रिने रेमिट्यान्सको अधिकांश हिस्सा नेपाल आएर काम गर्ने भारतीय कामदारले नै लैजाने गरेका बताए ।
फेडेरेशनका अध्यक्ष विनोद भट्टराईले विदेशबाट फर्केकालाई लगानीको वातावरण सुनिश्चित गर्नुपर्ने बताए ।