Ad Image

बस्तीमाथि पहिरो जाँदा पाँचधारे बजार जोखिममा

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/pahiro-pancdhare.jpg

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कमा रहेको पाँचधारे बजार पहिरोको जोखिममा परेको छ । बस्तीमाथिको डाँडामा जमिन चर्किएर पहिरो जाने अवस्था बनेपछि बजार जोखिममा परेको हो ।

बजारको माथिल्लो भागमा जमिन चिरा परेर पहिरो जान थालेपछि पाँचधारे बजार जोखिममा रहेको टेम्केमैयुङ–९ लेखर्कका वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिए। बजारमाथिको डाँडामा ढुङ्गा उत्खनन गरिँदा बस्तीलाई असर परेको उनको भनाइ छ ।

“पाँचधारे बजार पहिराको जोखिमा परेको छ”, वडाध्यक्ष माङ्गपाहाङ्गले भने , “अहिले पहिरो चलिरहेको छ । ठूलो मनसुनी वर्षात् भएको खण्डमा बस्ती नै जोखिममा पर्ने अवस्था छ ।” बजार क्षेत्रका आठवटा घर पहिराको जोखिममा रहेको वडाध्यक्ष माङ्गपाहाङ्गले बताए। यहाँको विपद् तथा क्षतिको विषयमा प्रहरी मुचुल्कासहित सम्बन्धित निकायमा पठाएको भए पनि कुनै सुनुवाइ नभएको उनको भनाइ छ ।

अहिले पनि जमिन चर्किएको स्थानमा सामन्य पहिरो गइरहेको अध्यक्ष माङ्गपाहाङ्गले जानकारी दिए। समयमा रोकथाम नगरिएमा ठूलो क्षति हुने अवस्था रहेको उनले बताए ।