संविधान नमान्नेहरूले संसद् अवरुद्ध गर्दैछन् : प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र लोकतान्त्रिक प्रणाली नमान्नेहरूले संसद्मा अवरोध गरिरहेको बताएका छन् ।
पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठद्वारा लिखित एक पुस्तकको लोकार्पण गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीले निरन्तर गरिरहेको संसद् अवरोधप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
ओलीले संविधान र कानुनभित्र रहेर पनि व्यवस्थाविरुद्ध आगो लगाउन खोज्ने प्रवृत्ति गलत भएको बताए । उनले लोकतान्त्रिक प्रणाली आफैँमा गलत नभए पनि यसलाई कार्यान्वयन गर्ने प्रक्रियामा भएका कमीकमजोरीलाई सुधार्नुपर्नेमा जोड दिए ।
ओलीले सरकार जनताप्रति उत्तरदायी र सेवक मात्रै हुने भन्दै सुशासन र समृद्धि नै आफ्नो ध्येय रहेको बताए । उनले अराजकता देखिएमा कानुनले आफ्नो बाटो लिने चेतावनीसमेत दिए ।