अस्पताल बने पनि सेवा पाउनबाट वञ्चित चन्द्रकोटवासी


गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकामा १५ शय्याको अस्पताल बने पनि सञ्चालनमा नआउँदा स्थानीय बासिन्दा उपचार पाउनबाट वञ्चित भएका छन् ।
अस्पतालका लागि जग्गा दिने लीलमाया शर्माले नै मधुमेहको उपचार गर्न बुटवल धाउनुपरेको गुनासो गरेकी छन् ।
रु १३ करोड ६६ लाख लागतमा निर्मित यो अस्पताल २०७७ मंसिर १५ मा देशभरका अन्य ३९६ आधारभूत अस्पतालहरूसँगै शिलान्यास गरिएको थियो । अहिले भवन र चिकित्सकका लागि आवास गृह पनि तयार भइसकेको छ ।
अस्पताल सञ्चालनमा नआउँदा उपचारका लागि पाल्पा र बुटवल जानुपरेको स्थानीय कुमारबहादुर सार्कीले बताए । उनले यति ठूलो अस्पताल सञ्चालन गर्न प्रदेश र केन्द्र सरकारले पनि सहयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
गाउँपालिका अध्यक्ष युवराज केसीले भने अस्पताल सञ्चालनका लागि चिकित्सकको विज्ञापन खुलाउने गरी बजेट स्वीकृत गरिएको जानकारी दिएका छन् ।