नेपाल प्रहरीको भवन भत्काउने विषयमा मेयर बालेन र आइजीपी थापाबीच भेटबार्ता


काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा र उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नलराज अधिकारी बीच महानगरकाे कार्यालयमा शिष्टाचार भेट भएको छ ।
उक्त भेटमा हनुमानढोका क्षेत्रमा रहेको नेपाल प्रहरीको भवन भत्काएर पोखरी निर्माण, ट्राफिक प्रहरी र महानगर प्रहरीको भवन निर्माण, वडा कार्यालय स्थानान्तरण र मानव बेचबिखन अनुसन्धान ब्युरोको भवन निर्माणका लागि जग्गा खोज्ने लगायत विषयमा महत्त्वपूर्ण छलफल सम्पन्न भएको महानगरले जनाएकाे छ।
बैठकमा नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नलराज अधिकारी, नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (इन्जिनियर) रामकुमार चौधरी, नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलगायतको उपस्थिति रहेको थियो ।
छलफलको मुख्य एजेन्डामध्ये एक हनुमानढोका क्षेत्रमा २ रोपनी जग्गामा रहेको नेपाल प्रहरीको पुरानो भवन भत्काएर मच्छिन्द्रनाथको रथ राख्ने परम्परागत पोखरी पुनर्निर्माण गर्ने विषयमा छलफल भएको हाे। मेयर शाहले उक्त भवन २०७२ को भूकम्पले क्षतिग्रस्त भएको र सांस्कृतिक सम्पदाको संरक्षणका लागि पोखरी पुनर्निर्माणलाई प्राथमिकता दिनु आवश्यकता रहेकाे बताएका थिए। “हनुमानढोका क्षेत्रको सांस्कृतिक महत्वलाई जोगाउन र मच्छिन्द्रनाथको रथ राख्ने परम्परालाई कायम गर्न दिन यो पोखरी निर्माण आवश्यक छ,” प्रमुख शाहले भने।
यो योजनालाई अगाडि बढाउन तत्काल प्रक्रिया अगाडि बढाउनका लागि प्रहरीका महानिरीक्षक थापा तयार भएको स्राेत बताउँछ।
यस्तै बैठकमा तत्कालीन नगर पञ्चायतको नाममा रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयको जग्गामा ट्राफिक टावर र आवश्यक भवन निर्माण गर्ने विषयमा पनि छलफल भएको थियो । यसका लागि लेआउट तयार गर्न नेपाल प्रहरीका इन्जिनियर रामकुमार चौधरी र महानगरका इन्जिनियर सन्तोष पाण्डेलाई जिम्मेवारी दिइएको छ ।
प्रमुख शाहले भने, “स्रोत साधन सम्पन्न पूर्वाधारले नागरिकलाई प्रदान गरिने सेवा प्रवाहमा सुधार ल्याउँछ। ट्राफिक व्यवस्थापन र शान्ति सुरक्षाका लागि यस्ता भवनहरू महत्त्वपूर्ण छन्।”
वडा नं. २७ को कार्यालय हाल भोटाहिटीमा रहेको साइबर ब्युरोको भवनमा सर्न सकिने विषयमा समेत छलफल भएको थियो । अहिले साइबर ब्युरोको नयाँ भवन सामाखुसीमा निर्माण भइरहेको छ र निर्माण सम्पन्न भएपछि वडा कार्यालय हाल ब्युरो रहेको भवनमा स्थानान्तरण गरिने विषयमा समेत छलफल भएको थियो ।
मानव बेचबिखन अनुसन्धान ब्युरोको भवन निर्माणका लागि उपयुक्त जग्गा खोज्ने र भवन बनाउनका लागि सहकार्य गर्ने विषयमा पनि छलफल भएको थियो । प्रहरी महानिरीक्षक दीपक थापाले भने, “सुरक्षा र सेवा प्रवाहका लागि बलियो पूर्वाधार आवश्यक छ । महानगरसँगको सहकार्यले हाम्रा योजनाहरूलाई प्रभावकारी बनाउन सकिन्छ ।'
यस्तै बैठकमा ट्राफिक व्यवस्थापन, सवारी सुव्यवस्था र शान्ति सुरक्षालाई चुस्त बनाउन पूर्वाधार निर्माण महत्वपूर्ण रहेकाे निष्कर्ष निकालिएकाे छ । बैठकमा प्रमुख शाहले स्रोत साधन सम्पन्न संस्थाहरूको निर्माणले नागरिकलाई प्रत्यक्ष सेवा प्रवाहमा सुधार आउने बताए । प्रहरी महानिरीक्षक थापाले पनि यस्ता पूर्वाधारले प्रहरी सेवालाई थप प्रभावकारी बनाउने उल्लेख गरे ।
Facebook Comments